महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पर्साको वीरगञ्जबाट प्रकाशित हुने मध्य नेपाल सन्देश पत्रिकालाई सम्मान गर्ने भएको छ ।
हिजो मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार पत्रिकालाई सम्मान गरिने मन्त्रालय अन्तर्गतको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखा अधिकृत पुष्पादेवी राईले जानकारी दिइन् । मानव बेचविखन तथा ओसारपसार विरुद्धको १८औँ राष्ट्रिय दिवसको अवसरमा भदौ २० गते पत्रिकालाई सम्मान गरिने मन्त्रालयले जनाएको छ।
मधेश प्रदेशमा महिलाहरूको समूहले सञ्चालन गरेको यस पत्रिकाले मानव बेचविखनका विरुद्ध कलम चलाएर राष्ट्रलाई पुर्याएको योगदानलाई कदर गर्दै सम्मान गर्न लागिएको राईको भनाइ छ । भदौ १२ गतेबाट मध्य नेपाल सन्देशले नवौँ वर्षमा प्रवेश गरेको छ । विभिन्न आरोहअवरोह पार गर्दै मध्य नेपालकी सम्पादक कविता खड्का नेतृत्वको महिलाहरूको समूहले कोरोनाकाल र आर्थिक मन्दीमा पनि अहोरात्र खटेर मानव बेचविखनविरुद्ध कलम चलाउँदै आएको छ ।
इमानदार र पत्रकारितालाई बुझ्ने समूहका कारण नै यो पत्रिका मधेश प्रदेशमै सर्वाधिक पढिने तथा लोकप्रिय पत्रिकाको रूपमा स्थापित हुँदै गएको छ ।