आसमान नेपालले क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेशन नेपालको सहयोगमा पर्सागढी नगरपालिकाका दलित समुदायका ५५ जना किशोरीलाई पुनः विद्यालय भर्ना गराएको छ ।
पर्सागढी नगरपालिका–२ र ४ का दलित किशोरीहरूलाई चालु शैक्षिक सत्रमा विद्यालय भर्ना गरिएको कार्यक्रम संयोजक धर्मेन्द्र चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक अभावका कारण विद्यालय छाडेका, बीचमै पढाइ रोकिएका तथा कहिल्यै विद्यालय नपुगेका किशोरीलाई लक्षित गरी पुनः शिक्षामा जोड्ने कार्यक्रम सञ्चालन गरिएको हो । यसका लागि आसमान नेपालले आठ महिनासम्म सञ्चालन हुने अनौपचारिक शिक्षा कक्षा तथा विभिन्न तालीममार्फत किशोरीहरूलाई विद्यालय भर्नाका लागि तयार पारेको जनाएको छ ।
कार्यक्रम संयोजक चौरसियाले दलित समुदायका किशोरीको शिक्षामा पहुँच बढाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँका अनुसार विद्यालय भर्नापछि उनीहरूको पढाइ निरन्तर रहोस् भन्ने उद्देश्यले परिवारलाई समेत आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
यसक्रममा २७ जना किशोरीका अभिभावकलाई प्रतिव्यक्ति २० हजार रुपैयाँ बराबरको आयआर्जन सहयोग प्रदान गरिएको छ । उक्त रकमबाट बाख्रापालन, बङ्गुरपालन तथा किराना पसल सञ्चालनजस्ता साना व्यवसाय सुरु गर्न प्रेरित गरिएको कार्यक्रमले जनाएको छ । कार्यक्रमले परिवारको आर्थिक अवस्था सुधार गर्दै बालिकाको शिक्षालाई निरन्तरता दिने लक्ष्य राखेको छ । संयोजक चौरसियाका अनुसार धेरै किशोरी गरीबी, सामाजिक बाध्यता र अवसरको अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित भएका थिए ।
स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरिएको यस कार्यक्रमले दलित समुदायका बालिकालाई पुनः शिक्षामा जोड्दै उनीहरूको भविष्य निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै समुदायस्तरमै आर्थिक सशक्तीकरणमार्फत शिक्षालाई दिगो बनाउने प्रयास गरिएको कार्यक्रमले जनाएको छ । आसमान नेपालले आगामी दिनमा पनि यस्ता लक्षित कार्यक्रम विस्तार गर्दै जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच बढाउने योजना बनाएको छ ।
यस पहलले विद्यालय छोड्ने दर घटाउन तथा दलित समुदायका किशोरीको शैक्षिक सहभागिता वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।