राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लाका संस्थापक सभापति चन्दन स्वर्णकार को पार्टी सदस्यता खारेज गरेको छ ।
रास्वपाको केन्द्रीय संगठन विभागका सचिव शङ्कर श्रेष्ठ द्वारा जारी पत्रअनुसार केन्द्रीय अनुशासन आयोगको सिफारिसमा स्वर्णकारमाथि कारबाही गरिएको हो । पत्रमा उल्लेख भएअनुसार २०८३ वैशाख ३० गते बसेको पार्टी केन्द्रीय समितिको बैठकले स्वर्णकारलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरेको जनाएको छ ।
बारा निवासी स्वर्णकार रास्वपाको स्थापनाकालदेखि नै जिल्ला तहको नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आएका थिए । पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको निष्कर्षसहित केन्द्रीय अनुशासन आयोगले कारबाही सिफारिस गरेको र सोही आधारमा केन्द्रीय समितिले निर्णय गरेको बुझिएको छ ।
उक्त निर्णयको बोधार्थ मधेस प्रदेश समिति तथा रास्वपाको जिल्ला समितिलाई समेत पठाइएको छ । पार्टी स्थापनाकालदेखि जिल्ला संयोजकको भूमिकामा रहेका स्वर्णकारमाथिको कारबाहीलाई बारा जिल्लामा चासोका साथ हेरिएको छ ।