जिल्ला प्रहरी कार्यालय, पर्सा र सामुदायिक प्रहरी सेवा अन्तर्गत एलाइड युथ सोसाइटीको आयोजनामा वीरगंजस्थित मूनलाइट सेकेन्ड्री स्कूलमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत ८० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा साइबर सुरक्षा, डिजिटल जिम्मेवारी तथा अनलाइन माध्यमबाट बढ्दै गइरहेका विभिन्न जोखिमबारे जानकारी प्रदान गरिएको थियो । अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई सुरक्षित, जिम्मेवार र सचेत डिजिटल नागरिक बन्न प्रेरित गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजु कार्कीले पछिल्लो समय सामाजिक सञ्जाल र इन्टरनेटको दुरुपयोग बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूलाई सचेत र जिम्मेवार ढङ्गले डिजिटल माध्यम प्रयोग गर्न आग्रह गरे । उनले साइबर अपराधबाट जोगिन व्यक्तिगत विवरण सुरक्षित राख्न, अपरिचित लिंक र सन्देशप्रति सतर्क रहन तथा अनलाइन गतिविधिमा विवेकपूर्ण निर्णय लिनुपर्ने बताए ।
उनले युवापुस्तालाई प्रविधिको सकारात्मक र सिर्जनात्मक प्रयोगतर्फ अग्रसर हुन प्रेरित गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले साइबर सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रमको नेतृत्व अङ्कित झाले गरेका थिए भने प्रहरी निरीक्षक सोनी नेम्हाफुकीले प्रशिक्षण दिएकी थिइन् ।