पर्साको ग्रामीण क्षेत्र धोबिनी गाउँपालिका–४ लंगडीमा सुविधा सम्पन्न ‘पर्सा भिलेज रिसोर्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । एक विशेष समारोहका बीच अनोखी गुप्ताले रिसोर्टको उद्घाटन गरेकी हुन् ।
पूजापाठसहित उद्घाटन गरिएको रिसोर्ट ग्रामीण क्षेत्रमा आधुनिक सेवा–सुविधासहित सञ्चालनमा ल्याइएको सञ्चालक सुनिल कुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार रिसोर्टमा विवाह, इन्गेजमेन्ट, पार्टी, विभिन्न समारोह तथा मिटिङ–तालिम सञ्चालन गर्न मिल्ने सुविधा उपलब्ध गराइएको छ ।
रिसोर्टमा म्यारिज हल, तालिम हल, स्विमिङ पुल, खानपान तथा क्याटरिङ सेवा, आरामदायी रुम तथा पर्याप्त पार्किङको व्यवस्था गरिएको छ । सबै वर्गका सेवाग्राहीलाई लक्षित गर्दै सुलभ शुल्कमा सेवा उपलब्ध गराइने सञ्चालक गुप्ताको भनाइ छ ।
लंगडी चोकदेखि पूर्वतर्फ निर्माण गरिएको उक्त रिसोर्ट ग्रामीण क्षेत्रमा पहिलोपटक आधुनिक ढाँचामा सञ्चालनमा आएको दाबी गरिएको छ । अन्य स्थानको तुलनामा कम लागतमा गुणस्तरीय सेवा प्रदान गरिने रिसोर्ट व्यवस्थापनले जनाएको छ ।