पर्सागढी नगरपालिकामा अनियमित विद्युत् कटौतीका कारण स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरण उपशाखा सिमरा वितरण केन्द्रअन्तर्गतको सेवा केन्द्र बडनिहारको ध्यानाकर्षण गराएका छन् ।
पर्सागढी नगरपालिका–३ स्थित सेवा केन्द्रमा स्थानीय युवा विक्रम कार्की र चन्द्रबहादुर गुरुड्डाको अगुवाइमा भेला भएका स्थानीयवासीहरूले विद्युत् आपूर्तिको निश्चित समयतालिका सार्वजनिक गर्न माग गरेका हुन् ।
स्थानीयवासीले विनासूचना पटक–पटक विद्युत् कटौती हुँदा घरायसी विद्युतीय सामग्री जलेर नष्ट हुने गरेको तथा सिंचाइका लागि प्रयोग हुने मोटरसमेत बिग्रिने समस्या बढेको गुनासो गरेका छन् । उनीहरूले यदि लाइन काट्नैपर्ने अवस्था भएमा कुन समय र कति अवधिसम्म काटिने हो भन्ने स्पष्ट जानकारी दिनुपर्ने भन्दै विद्युत् प्राधिकरणसँग जवाफदेहिता माग गरेका थिए ।
सेवा केन्द्र प्रमुखले स्थानीय तहमा मिटर जडान गर्ने, ट्रान्सफर्मरको फ्युज मर्मत गर्ने लगायतका सामान्य काम मात्र सेवा केन्द्रबाट हुने र विद्युत् कटौती तथा ट्रान्सफर्मर व्यवस्थापनसम्बन्धी निर्णय नेपाल विद्युत् प्राधिकरण सिमरा उपशाखाबाट हुने जानकारी दिएका थिए । उनले समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यसपछि स्थानीयवासी नेपाल विद्युत् प्राधिकरण सिमरा पुगेका थिए । त्यहाँ कार्यालय प्रमुख माधव महत र स्थानीयबीच आवश्यकताअनुसार ट्रान्सफर्मर परिवर्तन गर्ने, सेवा केन्द्रमा जनशक्ति थप गर्ने तथा कम्तीमा १०० केभी क्षमताका ट्रान्सफर्मर जडान गर्ने सहमति भएको छ ।
साथै, ढलेका पोल तथा अव्यवस्थित तारहरूको मर्मत र व्यवस्थापन साउन १ देखि १५ गतेभित्र सम्पन्न गर्ने सहमति पनि भएको बताइएको छ ।