वीरगंज महानगरपालिका–२२ स्थित मनियारीमा पवित्र गायत्री महायज्ञ तथा प्रज्ञा पुराण कथाको शुक्रबार एक विशेष समारोहबीच शुभारम्भ गरिएको छ ।
कार्यक्रमको उद्घाटन पूर्व खानेपानी मन्त्री प्रदीप यादवले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री यादवले आफ्नो पैतृक गाउँ मनियारीमा आयोजित यस महायज्ञले समाजमा नैतिकता, अनुशासन, सद्भाव र मानवीय मूल्यहरूको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले यस्ता धार्मिक कार्यक्रमले सामाजिक एकता सुदृढ गर्न पनि सकारात्मक भूमिका खेल्ने बताए ।
यादवले महायज्ञले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै नयाँ पुस्तालाई संस्कार, संस्कृति र धार्मिक चेतनाप्रति प्रेरित गर्ने उल्लेख गरे । कार्यक्रमको सफल आयोजनाका लागि आयोजक समिति, सहयोगी तथा स्थानीयवासीप्रति धन्यवाद ज्ञापन गर्दै उनले महायज्ञ तथा प्रज्ञा पुराण कथाको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।
मनियारी समाजद्वारा आयोजित उक्त धार्मिक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, धर्मप्रेमी तथा स्थानीय श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।