उपकार सेवा नेपालले ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित व्यक्तिहरूका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ ।
आश्रममा रहेका १८ जना अपाङ्ग, सुस्त मनस्थितिका व्यक्ति, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकाहरूको उपभोगका लागि संस्थाले चामल ३० किलोका २ बोरा, पिठो १ बोरा, सोयाबिन १ बोरा, दाल १० किलो, खाने तेल ४ लिटर, नुन ५ किलो, सर्फ, लुगा धुने साबुन, नुहाउने साबुन, धनिया, खुर्सानी लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरेको हो ।
संस्थाले आश्रमका सदस्य युहन्न गुरुङ, ममता गुरुङ र बिमाया थापालाई घरमै बोलाएर एक कार्यक्रम आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ ।
कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारूको उपस्थिति रहेको थियो । उनीहरूले आश्रमका सदस्यहरूलाई आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।
उपकार सेवा नेपालले प्रत्येक महिना नियमित रूपमा आश्रमलाई खाद्यान्न तथा अन्य जिन्सी सामग्री सहयोग गर्दै आएको छ । संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोग निरन्तर जारी राख्ने जनाएको छ ।