राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगञ्ज महानगर समितिको सभापतिमा दीपराज पटेल निर्वाचित भएका छन् ।
वीरगञ्जमा सम्पन्न रास्वपाको प्रथम महानगर अधिवेशनबाट पटेल सभापतिमा निर्वाचित भएका हुन् । महानगर नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा पटेलले निकटतम प्रतिस्पर्धी महमद महुदीन आलमलाई ४७ मतान्तरले पराजित गरेका हुन् । सभापतिमा विजयी पटेलले २ सय २६ मत प्राप्त गर्दा आलमले १ सय ७९ मत प्राप्त गरेका थिए । निर्वाचित पटेललाई पर्सा क्षेत्र नम्बर–२ का सांसद सुशील साह कानु निकट मानिन्छ भने पराजित आलम पर्सा क्षेत्र नम्बर–१ का सांसद हरि पन्त निकट मानिन्छन् ।
यस्तै उपसभापतिमा परितोष कुमार द्विवेदी निर्वाचित भएका छन् । द्विवेदीले १ सय ८४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी निखिल बर्णवालले १ सय ७६ मत प्राप्त गरे । अर्का उम्मेदवार विशाल कुमार पटेलले २९ मत प्राप्त गरेका थिए । सचिव पदमा गौतम कुमार श्रेष्ठ २ सय ३२ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जुनैद अन्सारीले १ सय ६६ मत प्राप्त गरेका थिए । त्यसैगरी सहसचिवमा मुन्ना साह तेली १ सय ८८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राजनन्दन प्रसाद कलवारले १ सय ७१ मत प्राप्त गर्दा अर्का उम्मेदवार ऋषिकेश गुप्ताले ४५ मत मात्रै प्राप्त गरेका थिए ।
सदस्य पदमा प्रमोद कुमार पटेल, रञ्जित कुमार पटेल, आजम मन्सुरी, जितेन्द्र प्रसाद सोनार, अर्जुन पटेल, राजेश प्रसाद सोनार, मोहन प्रसाद सोनार, चन्दन महतो कहार, दीपक ठाकुर, सदरे आलम अन्सारी, कन्हैया साह, पिंकी कुमारी साह, राज्दा खातुन, अन्जु चौरसिया, पूर्णिमा शर्मा, मीना देवी, सावित्री घिमिरे, शोभा गुप्ता र दिप्सना गिरि निर्वाचित भएका छन् ।
महानगर समितिको नेतृत्व चयनका लागि आइतबार बेलुकी सम्पन्न निर्वाचनमा कुल ४ सय ८४ मतदाता रहेकोमा ४ सय ८३ मत खसेको प्रमुख निर्वाचन अधिकृत तुलसा अधिकारी पौडेलले जानकारी दिइन् ।