नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवैध आयात–निर्यात तथा तस्करी गतिविधि अपेक्षित रूपमा नियन्त्रण हुन नसकेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
सुरक्षा निकायले सीमाबाट हुने अवैध कारोबार नियन्त्रणका लागि नियमित चेकजाँच तथा कारबाही भइरहेको दाबी गरे पनि स्थानीयवासीले तस्करी गतिविधि अझै पूर्ण रूपमा नरोकिने अवस्था रहेको बताएका छन् । स्थानीयका अनुसार दिनको समयमा व्यक्तिगत उपभोगका लागि भारतबाट खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री ल्याउने सर्वसाधारणमाथि कडाइ गरिएपनि ठूलो परिमाणमा हुने अवैध कारोबार नराेकिएकाे दाबी गरेका छन् ।
पछिल्लो समय सीमाबाट बरामद हुने चोरीपैठारीका सामानको परिमाण बढ्दै गएको तथ्यले समेत अवैध कारोबार पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको संकेत गरेको उनीहरूको भनाइ छ । सीमावर्ती क्षेत्रका बासिन्दाहरूले दैनिक उपभोग तथा कृषि प्रयोजनका सामग्री ल्याउनसमेत कडाइ भएपछि स्थानीयवासी तस्करीविरुद्ध थप सचेत बनेको बताएका छन् ।
स्थानीय सरोकारवालाहरूले सीमामा हुने अवैध कारोबार नियन्त्रणका लागि सर्वसाधारणमाथि मात्र कडाइ गर्ने नभई सङ्गठित तस्करी सञ्जालको पहिचान गरी निष्पक्ष र प्रभावकारी कारबाही गर्नुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार वास्तविक तस्करी नियन्त्रण नभएसम्म सीमा क्षेत्रमा हुने अवैध आर्थिक गतिविधि रोक्न कठिन हुने छ ।
स्थानीयवासीले सीमामा पारदर्शी निगरानी, प्रभावकारी सुरक्षा व्यवस्थापन तथा सङ्गठित तस्करीविरुद्ध कडा कारबाहीको आवश्यकता औंल्याउँदै आएका छन् ।