बाराको कलैया उपमहानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर सभापति पदका लागि आज पुनः मतदान हुने भएको छ ।
मतदान आज साँझ ५ बजे कलैया–१ स्थित भरतचोकको देवकीलाल धर्मशालामा हुने कार्यक्रम तय गरिएको छ । रास्वपा मधेस प्रदेश की उपसभापति राधिका न्यौपानेका अनुसार नगर अधिवेशन सम्पन्न भएपनि सभापति पदका कुनै पनि उम्मेदवारले पार्टी विधान तथा नगर अधिवेशन कार्यविधिअनुसार आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकाले पुनः निर्वाचन गर्न लागिएको हो ।
उनका अनुसार यसपटक पुनः मतदान केवल सभापति पदका लागि मात्र हुनेछ भने वडा सभापति, उपसभापति तथा सचिवहरूले मतदान प्रक्रियामा भाग लिनेछन् ।
यसअघि जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमा शंकर रौनियारले १०२ मत प्राप्त गर्दै अग्रता हासिल गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी बब्लु गिरि गोसाईले ८३ मत, सुरेन्द्र शर्माले ६७ मत तथा अभिषेक पटेलले २ मत प्राप्त गरेका थिए । तर, सभापति पदमा ५१ प्रतिशत मत नआएको भन्दै पुनः निर्वाचनको निर्णय भएपछि विजेता घोषित भएका रौनियारले आपत्ति जनाएका छन् ।
उनले निर्वाचन अधिकृतबाट प्रमाणपत्र प्राप्त गरी शपथसमेत लिइसकेको दाबी गर्दै विधानअनुसार निर्वाचित भइसकेपछि पुनः निर्वाचन गराउनु उचित नभएको बताएका छन् ।