विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा बुधबार जनचेतनामूलक साइकल र्याली आयोजना गरेको छ ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन आयोजित र्यालीमार्फत वातावरण संरक्षण तथा ट्राफिक सचेतनासम्बन्धी सन्देश प्रवाह गरिएको हो।
प्रकृति सेवा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा आयोजित र्यालीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी भगवान श्रेष्ठ, वीरगंज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, युवा अभियन्ता दिलिप कार्की, प्रतिष्ठानका सहसचिव अभिनाश झा, सदस्यहरू भोला प्रसाद, रुपनारायण सिंह, केदार गुप्ता, सञ्चारकर्मी आकाश पटेल, रानिघाट प्रहरी पोस्टका प्रहरी कर्मचारी, शिक्षक तथा कक्षा ९ र १० का करिब ५० विद्यार्थीहरूको सहभागिता रहेको थियो।
जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिव गुप्ताले हरियो झण्डा देखाएर र्यालीको उद्घाटन गरेका थिए । रानिघाटस्थित विद्यालयबाट सुरु भएको र्याली घण्टाघर, बसपार्क, बाइपास रोड हुँदै नगवा पुगेर पुनः रेशमकोठी, मेनरोड, कैलाश होटल चोक, घडिअर्वा पोखरी, माइस्थान र घण्टाघर हुँदै विद्यालय परिसरमा पुगेर समापन भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी प्रमुख युवराज कटुवालले मानव जीवनका प्रत्येक चरणमा वातावरणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै वातावरण संरक्षण सबैको साझा दायित्व भएको बताए। उनले स्वच्छ हावा, पानी, अन्न, फलफूल, वनस्पति तथा जडीबुटीजस्ता जीवनदायी स्रोतहरू प्रकृतिले निःशुल्क उपलब्ध गराइरहेको भन्दै यसको संरक्षण र संवर्द्धनमा सबैले योगदान दिनुपर्नेमा जोड दिए।
साथै उनले ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै सहभागी विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।
प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले “हरियो, सफा र स्वस्थ वीरगञ्ज”, “प्लास्टिक झोला तथा प्रदूषणमुक्त वीरगंज” र “धरती बचाऔँ, वातावरण जोगाऔँ” भन्ने मूल सन्देशलाई आत्मसात गर्दै संस्थाले हरेक वर्ष वातावरण संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
उनका अनुसार विश्व वातावरण दिवसको पूर्वसन्ध्यादेखि नै सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् भने साइकल र्यालीमार्फत वातावरणप्रति नागरिकको जिम्मेवारीबारे थप जनचेतना फैलाउने प्रयास गरिएको हो ।
अध्यक्ष सिंहले वातावरण संरक्षण, सम्मान तथा संवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा प्रतिष्ठानका पदाधिकारीहरूप्रति आभार व्यक्त गरेका थिए ।