सातु नेपालको परम्परागत तथा चर्चित आहारमध्ये एक मानिन्छ । सातुसँग जोडिएका अनेक कथा, परम्परा र सांस्कृतिक अभ्यास नेपाली समाजमा आज पनि प्रचलित छन् ।
यसले सातु पूर्वीय सभ्यताको निकै पुरानो तथा लोकप्रिय खाद्य परिकार भएको संकेत गर्छ । मकै, जौ, गहुँ, भटमास, चना लगायतका गेडागुडीलाई भुटेर पिसेपछि सातु तयार गरिन्छ । स्वाद र पोषण बढाउन आवश्यकताअनुसार अन्य गेडागुडी, चिनी वा सख्खर पनि मिसाइन्छ । तयार सातुलाई दूध, दही, मोही वा पानीसँग सेवन गरिन्छ । नेपालमा अक्षय तृतीया का अवसरमा सातु र सर्वत बाँड्ने परम्परा समेत रहेको छ ।
विशेषगरी गर्मी मौसममा सातुको सेवनलाई अत्यन्त लाभदायक मानिन्छ । सातुले शरीरलाई चिसो राख्ने, ऊर्जा दिने तथा डिहाइड्रेशन हुनबाट जोगाउने काम गर्छ । अहिलेभन्दा एक–दुई पुस्ताअघि लामो यात्रामा निस्कँदा मानिसहरूले सातु बोकेर हिँड्ने चलन थियो । सजिलै बोक्न सकिने, लामो समयसम्म नबिग्रिने र तुरुन्त ऊर्जा दिने भएकाले सातु यात्राका लागि उत्कृष्ट आहार मानिन्थ्यो । अहिले पनि सन्तुलित आहारका रूपमा बिहान चना वा जौको सातु सेवन गर्ने चलन बढ्दो छ ।
सातु पौष्टिक तत्वले भरिपूर्ण खाद्य पदार्थ हो । १०० ग्राम सातुमा औसत रूपमा २० देखि २६ ग्राम प्रोटिन, ६० देखि ६५ ग्राम कार्बोहाइड्रेट, ९ देखि १८ ग्राम फाइबर, ५ देखि ७ ग्राम फ्याट तथा ३८० देखि ४१३ किलो क्यालोरी ऊर्जा पाइन्छ । यसमा क्याल्सियम, म्याग्नेसियम, आइरन र पोटासियमजस्ता खनिज तत्व पनि प्रशस्त मात्रामा पाइन्छन् । सातु प्रोटिनको राम्रो स्रोत भएकाले मांसपेशी निर्माण र शरीरको मर्मतमा सहयोग गर्छ भने उच्च फाइबरले पाचन प्रणाली सुधार्नुका साथै लामो समयसम्म पेट भरिएको महसुस गराउँछ । कम ग्लाइसेमिक इन्डेक्स भएकाले यसले रक्तशर्करा नियन्त्रणमा समेत मद्दत गर्छ, जसले मधुमेह भएका व्यक्तिलाई पनि लाभ पुर्याउन सक्छ ।


आयुर्वेद अनुसार सातु शीतल गुण भएको खाद्य पदार्थ हो । गर्मी मौसममा शरीरको तापक्रम बढ्दा हुने पित्त दोष कम गर्न सातु उपयोगी मानिन्छ । पानी, मोही वा दहीमा मिसाएर सेवन गर्दा यसले शरीरको आन्तरिक तापक्रम घटाउन सहयोग पुर्याउँछ । गर्मीका कारण हुने जलन, थकान र टाउको दुखाइ कम गर्न पनि सातु प्रभावकारी मानिन्छ । यसमा रहेको पोटासियम र म्याग्नेसियमले पसिनासँग शरीरबाट बाहिरिने खनिज तत्वको पूर्ति गर्न मद्दत गर्छ, जसले हिट स्ट्रोकको जोखिम कम गर्न सहयोग पुर्याउँछ ।
गर्मी मौसममा भोक कम लाग्ने र शरीरमा ऊर्जा कमी हुने समस्या सामान्य हो । सातुले सजिलै पच्ने कार्बोहाइड्रेट र प्रोटिनमार्फत शरीरलाई स्थिर ऊर्जा प्रदान गर्छ । चिनीयुक्त पेय पदार्थले जस्तो तत्काल ऊर्जा दिएर फेरि थकान महसुस गराउने समस्या सातुमा हुँदैन । यसमा रहेको फाइबरले कब्जियत र एसिडिटी कम गर्न पनि सहयोग पुर्याउँछ । साथै सातुले कम क्यालोरीमा पर्याप्त पोषण दिने भएकाले तौल नियन्त्रणमा समेत सहयोगी मानिन्छ । लामो समयसम्म पेट भरिएको महसुस हुने भएकाले अनावश्यक प्रशोधित खानेकुरा सेवन गर्ने बानी कम हुन्छ ।
यद्यपि अत्यधिक सेवन गर्दा पेट फुल्ने समस्या हुन सक्छ । त्यसैले सातु सेवन गर्दा पर्याप्त पानी पिउनुका साथै पाचन क्षमता कमजोर भएका व्यक्तिले सीमित मात्रामा सेवन गर्नुपर्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ ।