गोली हानी हत्या गरेको आरोपमा तीन वर्षदेखि फरार रहेका एक व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी नायब निरीक्षक राजीव यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य, मोतिहारी जिल्ला, दरपा थाना अन्तर्गत तिनकोनी ग्राम पञ्चायत निवासी ३० वर्षीय रञ्जित मुखियालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मुखियामाथि २०८० साल असोज ९ गते पचरौता नगरपालिका–६ पडकियास्थित लक्ष्मिनिया पोखरीको डिलमा अजित कुमार सिंहमाथि गोली प्रहार गरी हत्या गरेको आरोप छ । घटनापछि उनी फरार रहँदै आएका थिए ।
प्रहरीले विशेष सूचनाका आधारमा लामो समयदेखि उनको खोजतलास गरिरहेको थियो । सोही क्रममा पचरौता नगरपालिका–४ बेल्दारी क्षेत्रबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। प्रहरीका अनुसार पक्राउ परेका मुखियामाथि थप अनुसन्धान भइरहेको छ भने आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले फरार अपराधीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।