बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित त्रिवेणी स्पाइनिङ धागो फ्याक्ट्रिमा शुक्रबार बिहान भीषण आगलागी भएको छ ।
प्रहरीका अनुसार बिहान करिब १०ः४० बजे फ्याक्ट्रीभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेजनारायण वैठाको कमाण्डमा ६ जना प्रहरी टोली परिचालन गरिएको थियो । त्यसैगरी इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादवको नेतृत्वमा ४ जना प्रहरी तथा औद्योगिक सुरक्षा बेस जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक एकवाल यादवको कमाण्डमा ५ जना सशस्त्र प्रहरी खटिएका छन् ।
आगो नियन्त्रणका लागि जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगञ्ज र वीरगञ्ज महानगरपालिकाका गरी पाँच वटा दमकल परिचालन गरिएको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
हालसम्म आगलागीबाट भएको क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।