तीन वर्षअघि बाराको सीमावर्ती क्षेत्रमा भारतीय नागरिक अजित सिंहको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका मुख्य अभियुक्तलाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
बारा जिल्ला अदालतका १ नम्बर इजलासका न्यायाधीश प्रकाशकुमार अधिकारीको आदेशअनुसार अभियुक्त रञ्जित मुखियालाई वीरगन्ज कारागार पठाइएको हो । भारत बिहारको मोतिहारी जिल्ला, दरपा थाना अन्तर्गत तीनकोनी ग्राम पञ्चायत निवासी ३० वर्षीय मुखिया लामो समयदेखि फरार रहेका थिए ।
उनी गत बुधबार मात्रै जिल्लाको पचरौता नगरपालिका–४ बेल्दारीबाट प्रहरीले पक्राउ गरेको जिल्ला अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । प्रहरी अनुसन्धान तथा अदालतमा पेश गरिएको मिसिलअनुसार उक्त हत्या घटना त्रिकोणात्मक सम्बन्ध र आपसी रिसिइबीका कारण भएको देखिएको छ । मृतक अजित सिंह र उनकी श्रीमती सोनम सहनी नेपालको सिम्रौनगढ नगरपालिका–६ स्थित बजारमा बसोबास गर्दै आएका थिए ।
अनुसन्धानका अनुसार सोही क्रममा श्रीमती सोनम, पक्राउ परेका अभियुक्त रञ्जित मुखिया तथा अर्का सहयोगी रूपेशकुमार महतोको मिलेमतोमा योजनाबद्ध रूपमा अजित सिंहको हत्या गरिएको थियो। २०८० साल असोज ९ गते पचरौता नगरपालिका–६ पकडिया गाउँस्थित लक्ष्मीनियाँ पोखरीको डिलमा सिंहलाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न सबै व्यक्ति भारतीय नागरिक हुन् र उनीहरूले नेपाली भूमिलाई अपराधस्थलका रूपमा प्रयोग गरेका थिए ।