बाराको सदरमुकाम कलैयाबाट विभिन्न रूटमा म्याजिक भ्यान, सिटी राइड तथा मिनी बस सञ्चालन गर्दै आएका यातायात व्यवसायीहरूले अव्यवस्थित रूपमा सञ्चालन भइरहेका ई–रिक्शाका कारण आफ्नो व्यवसाय र रोजीरोटी संकटमा परेको बताएका छन् ।
बारा गढीमाई यातायात व्यवसायी प्रालि, पुरानो नारायणी यातायात प्रालि तथा सम्पूर्ण बारा यातायात प्रालिमा आबद्ध व्यवसायीहरूले पत्रकार सम्मेलन गर्दै राजमार्ग तथा अन्तरपालिका रूटमा अनधिकृत रूपमा सञ्चालन भइरहेका ई–रिक्शाका कारण यात्रु ओसारपसारमा प्रतिस्पर्धा बढेको र व्यवसाय धराशयी बन्दै गएको गुनासो गरेका हुन् ।
बारा गढीमाई यातायात व्यवसायी प्रालिका अध्यक्ष सञ्जय साहले पछिल्लो पाँच वर्षयता ई–रिक्शाको संख्या अनियन्त्रित रूपमा बढ्दै गएको र त्यसले यातायात व्यवसायमा गम्भीर असर पारेको बताए । उनले अवैध रूपमा सञ्चालन भइरहेका ई–रिक्शालाई नियन्त्रण गर्न ट्राफिक प्रहरी तथा प्रशासनको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको आरोप लगाए ।
व्यवसायीहरूका अनुसार यातायात व्यवस्था विभागले २०७२ फागुन ९ गते जारी गरेको परिपत्रमार्फत राजमार्गमा ई–रिक्शा सञ्चालनमा रोक लगाएको थियो। साथै, २०७७ पुस १३ गते उच्च अदालत वीरगन्जले एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म ई–रिक्शा सञ्चालन गर्न नपाइने भन्दै परमादेश जारी गरेको भए पनि ती निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन नभएको उनीहरूको भनाइ छ।
गत वर्ष असार २५ गते कलैया–वीरगन्ज, कलैया–पिलुवा, कलैया–मटिअर्वा तथा कलैया–बरियारपुर सडकखण्डमा ई–रिक्शाको चाप अत्यधिक बढेपछि व्यवसायीहरूले आन्दोलनसमेत गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय, बारामा भएको छ बुँदे सहमतिसमेत कार्यान्वयन नभएको पुरानो नारायणी यातायात व्यवसायी प्रालिका अध्यक्ष रामजीप्रसाद पटेलले बताए ।
व्यवसायीहरूले समस्या समाधानका लागि सम्बन्धित निकायले ठोस पहल नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढका प्रहरी निरीक्षक दीपक केसीले ई–रिक्शा व्यवस्थापन भविष्यमा ठूलो चुनौती बन्न सक्ने बताए। उनले चालकहरूसँग छलफल, स्थानीय तहमा दर्ता गरेर सञ्चालन गर्न आग्रह तथा राजमार्ग क्षेत्रमा निगरानी र नियन्त्रणलाई निरन्तरता दिइएको जानकारी दिए ।
तर यातायात व्यवसायीहरूले ट्राफिक प्रहरीको उदासीनताका कारण समस्या झन् जटिल बन्दै गएको आरोप लगाउँदै कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न माग गरेका छन् ।