पर्सामा २५ वर्षअघि भएको कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मिति २०५८ फागुन २६ गते भएको हत्या घटनामा संलग्न भनिएका काशी प्रसाद चौहानलाई पक्राउ गरिएको जानकारी दिएको हो । प्रहरीका अनुसार साविक धोरे वडा नं. ८ हाल पकाहा मैनपुर गाउँपालिका–१ निवासी २६ वर्षीया रावडी भन्ने रीना देवीको घरायसी विवादका क्रममा घाँटी थिचेर हत्या गरिएको थियो । घटनापछि फरार रहेका प्रतिवादी चौहानलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा आइतबार बिहान करिब ७ बजे पक्राउ गरेको हो । पक्राउ परेका चौहानविरुद्ध कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसूर) मुद्दामा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।