राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
लामो समयदेखि जारी आन्तरिक रस्साकस्सीपछि सोमबार बिहानदेखि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो । रास्वपा निर्वाचन कार्यालय पर्साले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान पौने ९ बजेदेखि विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । जिल्ला सभापतिसहित जिल्ला कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार मनोनयन दर्ता सम्पन्न भएपछि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । त्यसपछि दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा गरिने कार्यतालिका रहेको छ । अन्तिम नामावली प्रकाशनपछि दिउँसो १ बजेदेखि मतदान सुरु हुने जनाइएको छ । मतदान सम्पन्न भएपछि मतगणना गरी नयाँ नेतृत्वको घोषणा गरिनेछ । पार्टीभित्र लामो समयदेखि सहमति जुटाउने प्रयास भए पनि अन्ततः रास्वपा पर्सामा नेतृत्व चयन निर्वाचनमार्फत गर्ने निर्णय गरिएको हो ।
निर्वाचन प्रक्रियासँगै पर्सा जिल्लामा रास्वपाको नयाँ नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा कार्यकर्ता र समर्थकमाझ चासो बढेको छ ।