जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभाको १४औं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
नगर प्रमुख राजन पौडेलले उपमहानगरपालिकालाई समृद्ध, प्रविधिमैत्री र सुशासित बनाउने संकल्पसहित बहुआयामिक योजनाहरू समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, सुशासन, वन–वातावरणलगायत १६ वटा मुख्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
शिक्षा क्षेत्रमा ‘हामी बनाउँछौं हाम्रो विद्यालय’ अभियानलाई निरन्तरता दिँदै सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, ई–लाइब्रेरी स्थापना, एकरूप विद्यालय पोशाक तथा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने नीति लिइएको छ । साथै संस्थागत विद्यालयहरूको शुल्क निर्धारणलाई वैज्ञानिक बनाइने उल्लेख छ ।
स्वास्थ्य क्षेत्रमा ‘घर घरमा नगर अस्पताल’ अवधारणालाई थप विस्तार गर्दै डिजिटल हेल्थ रेकर्ड र अनलाइन परामर्श सेवा सञ्चालन गरिनेछ । जीतपुरसिमरा अस्पतालबाट विशेषज्ञ सेवा, डायलाइसिस, सघन उपचार कक्ष र सर्पदंश उपचार सेवा विस्तार गरिने योजना छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा निःशुल्क रक्त सेवा उपलब्ध गराइनेछ ।
पूर्वाधार विकासतर्फ सडक ढलानलाई निरुत्साहित गर्दै कालोपत्रे (पिच) सडकमा जोड दिइनेछ । भौगोलिक सूचना प्रणाली (GIS) आधारित स्मार्ट सडक, ‘पूर्वाधार एम्बुलेन्स सेवा’, हरित भवन अवधारणा र विद्युतीय भवन अनुमति प्रणाली लागू गरिनेछ । कृषि क्षेत्रमा स्मार्ट कृषि एप, कृषि उपज बजार विस्तार, शीत भण्डार निर्माण तथा माटो र पशुपंक्षी प्रयोगशाला स्थापना गर्ने नीति लिइएको छ । छाडा चौपाया व्यवस्थापनका लागि कान्जी हाउस निर्माण गरिनेछ ।
सुशासन प्रवर्द्धनका लागि कागजविहीन कार्यालय प्रणाली, डिजिटल हस्ताक्षर, क्यूआर प्रतिक्रिया प्रणाली, नागरिक सुझाव पेटिका र हटलाइन सेवा सञ्चालन गरिनेछ । कर्मचारी तथा जनप्रतिनिधिको कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कार र दण्ड प्रणाली लागू गरिनेछ । राजस्व नीतिमा करको दायरा फराकिलो बनाउँदै मालपोत कर १० देखि २५ प्रतिशतसम्म घटाउने घोषणा गरिएको छ । एकल महिला तथा अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित व्यवसायमा २५ प्रतिशत कर छुट दिइनेछ ।
वन तथा वातावरण संरक्षण अन्तर्गत बाँदर आतंक न्यूनीकरणका लागि जंगलमा फलफूलका बोट रोपिने, वन्यजन्तु नियन्त्रणका लागि तारजाली विस्तार गरिने तथा प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गरिनेछ । बालमैत्री नगर घोषणा, सामाजिक सुरक्षा विस्तार, महिला उद्यमशीलता, युवा रोजगार तथा श्रम डेस्क स्थापना गर्ने नीति पनि समेटिएको छ ।
खेलकुदतर्फ सिमरा रङ्गशाला निर्माण, क्रिकेट रङ्गशालाको सम्भाव्यता अध्ययन तथा खेलकुद कोष स्थापना गर्ने उल्लेख छ । भूमि व्यवस्थापनमा जग्गा वर्गीकरण, सार्वजनिक जग्गा संरक्षण तथा अवैध संरचना हटाउने नीति लिइएको छ । तीन तलाभन्दा माथिका भवनमा अग्नि नियन्त्रण प्रणाली अनिवार्य गरिनेछ ।
पर्यटन प्रवर्द्धनका लागि थारु र दनुवार समुदायको संस्कृति झल्किने होमस्टे र संग्रहालय सञ्चालन गरिनेछ । सिद्धबाबा मन्दिर, अमलेखगञ्ज हात्तिसार र पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटन हबका रूपमा विकास गर्ने योजना छ । यद्यपि, नीति तथा कार्यक्रममा स्थानीय सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धन सम्बन्धी विषय समेटिएको छैन ।
नगरसभामा उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरूको उपस्थिति रहेको थियो ।