राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
सहमतिमै नयाँ नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनमार्फत जिल्ला कार्यसमिति चयन गर्न लागिएको हो । आइतबार पार्टी नेताहरूबीच भएको छलफलमा सहमति जुट्न नसकेपछि सभापतिसहित विभिन्न पदका लागि मतदान हुने भएको छ । निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त र पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार साह कानु नेतृत्वका प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।
निवर्तमान जिल्ला सभापति समेत रहेका हरि पन्त पुनः नेतृत्वमा दोहोरिने प्रयासमा छन् भने अर्कोतर्फ सुशील कुमार साह ‘कानु’ पक्षलाई नेता सुधिर पटेलसहित पर्सा क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसिया र पर्सा क्षेत्र नम्बर ४ का सांसद टेक बहादुर शाक्यको समर्थन रहेको बताइएको छ ।
हरि पन्त पक्षबाट उपसभापतिमा दिलिप कुर्मी, सचिवमा सुदिश कुमार प्रजापति, सह–सचिवमा कृष्णा पासवान तथा सदस्यमा तुलसा अधिकारी, प्रियंका पटेल, युवराज पटेल, पूर्णबहादुर सापकोटा र कामोध्या चौधरी उम्मेदवार रहेका छन् ।
त्यसैगरी सुशील कुमार साह कानु पक्षबाट उपसभापतिमा रन्दिप श्रीवास्तव, सचिवमा शिवकुमार साह, सह–सचिवमा निरज साह तथा सदस्यमा समिर अन्सारी, महमुद अन्सारी, शशीदेवी थरुनी र आशिका थापा उम्मेदवार बनेका छन् । निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि मतदान सुरु हुनेछ भने मतगणना भोलि गरिने निर्वाचन समितिले जनाएको छ ।
दुई प्रभावशाली समूहबीच प्रतिस्पर्धा हुने भएपछि रास्वपा पर्साको अधिवेशनलाई चासोका साथ हेरिएको छ ।