पर्साको वीरगंज महानगरपालिका–३१ स्थित मिलनचोक क्षेत्रबाट अवैध रूपमा कटान गरिएको सालको काठ र पाँच थान साइकल बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेल्वाबाट खटिएको मोबाइल टोली तथा सब–डिभिजन वन कार्यालय सबैयाको संयुक्त टोलीले आइतबार फुटबल ग्राउन्ड क्षेत्रबाट उक्त काठ बरामद गरेको हो । प्रहरीका अनुसार जंगलबाट अवैध रूपमा कटान गरी साइकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा काठ फेला परेको थियो । संयुक्त टोलीलाई देखेपछि काठ ओसारपसारमा संलग्न व्यक्तिहरू काठ र साइकल छाडेर फरार भएका थिए ।
बरामद गरिएको करिब ४५ क्युबिक फिट सालको गोलिया काठ र पाँच थान साइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिनुभयो ।
घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।