साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घट्दै २७३५ अंकमा झरेको छ । यसअघि बिहीबार १३ अंक र शुक्रबार ११ अंकले बजार घटेको थियो ।
आज कारोबार सुरु भएको केही मिनेटमै ओरालो लागेको बजार दिनभर रातो अंकमै रह्यो । बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ ।
आज ४१ कम्पनीको सेयर मूल्य बढ्दा २२३ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । क्षेत्रगत रूपमा फाइनान्स समूहबाहेक सबै उपसूचक ओरालो लागेका छन् । फाइनान्स समूह ०.२६ प्रतिशतले बढ्दा व्यापार १.७७, अन्य १.५०, विकास बैंक १.०३, हाइड्रोपावर ०.९५, निर्जीवन बीमा ०.८३, होटल तथा पर्यटन ०.७१, जीवन बीमा ०.५४, माइक्रोफाइनान्स ०.५२, बैंकिङ ०.४५, उत्पादन तथा प्रशोधन ०.४४ तथा लगानी समूह ०.३८ प्रतिशतले घटेका छन् ।
आज कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । त्यसपछि क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स १३.११ प्रतिशत, सोपान फर्मास्युटिकल्स ९.९८ प्रतिशत र सामुदायिक लघुवित्त ८.८५ प्रतिशतले बढेका छन् । यता, उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावर ६.०१ प्रतिशत र सूर्यकुण्ड हाइड्रोपावर ३.७१ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, सिटी होटल, रिलायन्स स्पिनिङ मिल्स र नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेका छन् ।