राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला सभापतिमा बुद्धिप्रसाद पन्त (हरि पन्त) निर्वाचित भएका छन् ।
नयाँ जिल्ला नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा पन्त नेतृत्वको प्यानलले सबै प्रमुख पदमा विजय हासिल गर्दै संगठनमा आफ्नो स्पष्ट वर्चस्व कायम गरेको छ ।
निर्वाचन समितिका संयोजक नन्दन यादवका अनुसार सभापति पदमा पन्तले १६६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सुशीलकुमार कानुले ११८ मत प्राप्त गरेका थिए। पन्तले ४८ मतको फराकिलो अन्तरले जित हासिल गरेका हुन् ।
पन्त पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने कानु क्षेत्र नम्बर २ का सांसद हुन् । दुवै पक्ष प्यानलसहित निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका थिए । उपसभापति पदमा पन्त समूहका दिलीपकुमार कुर्मी १६२ मतसहित निर्वाचित भए । उनका प्रतिद्वन्द्वी रंदीप श्रीवास्तवले ११४ मत प्राप्त गरे ।
त्यसैगरी सचिव पदमा सुदिशकुमार प्रजापति १६० मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी शिवकुमार साहले ११६ मत प्राप्त गरे । सहसचिव पदमा कृष्णा पासवान १४९ मतसहित विजयी भइन् भने निरजकुमार साह ११३ मतमा सीमित भए ।
सदस्य पदतर्फ तुलसा पौडेल अधिकारी १६० मत प्राप्त गर्दै सर्वाधिक मत ल्याउने उम्मेदवार बनिन् । सदस्यमा प्रियंका कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी पनि निर्वाचित भएका छन् ।
निर्वाचन परिणामसँगै रास्वपा पर्साको नयाँ जिल्ला नेतृत्वमा संस्थापन पक्षको पूर्ण वर्चस्व स्थापित भएको छ । पर्साका चार सांसदमध्ये हरि पन्तले पार्टीका पुराना नेतृत्व र कार्यकर्ताको साथ लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
यता सुशीलकुमार कानुलाई क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसिया, क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्य तथा नेता सुधिर पटेलको समर्थन रहेको थियो ।
निर्वाचनको नतिजाले पर्सा जिल्लामा हरि पन्त समूहको संगठनात्मक पकड अझ बलियो बनेको राजनीतिक वृत्तमा चर्चा गरिएको छ ।