वीरगंजमा खेत जोत्ने क्रममा ट्रयाक्टरमा जडान गरिएको रोटाभेटरमा बेरिएर एक बालकको ज्यान गएको छ ।
सोमबार साँझ करिब ७ बजे पर्साको वीरगंज महानगरपालिका–३० प्रसोतिपुरमा उक्त दुर्घटना भएको हो। मधेश प्रदेश ०३–००१ त ८१७६ नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा रोटाभेटरमा बेरिएर स्थानीय नुरैन मियाँका ५ वर्षीय छोरा सोनु अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खेत जोत्ने क्रममा ट्रयाक्टर नजिक पुगेका बालक रोटाभेटरमा बेरिएर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । तर इसिजी परीक्षणका क्रममा करिब साढे ७ बजे उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।
घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ भने प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।