नेपाली सेयर बजारमा गिरावटको क्रम लगातार चौथो कारोबार दिन पनि जारी रहेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.५४ अंकले घट्दै २७३३ अंकमा झरेको छ ।
कारोबार अवधिमा नेप्से दिउँसो १:२२ बजे २७०२ अंकसम्म झरेको थियो । त्यसपछि केही सुधार हुँदै बजार बन्द हुँदा २७३३ अंकमा कायम भएको हो । यसअघि बिहीबार १३ अंक, शुक्रबार ११ अंक र सोमबार २० अंकले नेप्से घटेको थियो । बजार घटे पनि कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम वैशाख १५ यताकै उच्च रहेको बताइएको छ ।
आज १०५ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ । समूहगत सूचकतर्फ फाइनान्स समूह सबैभन्दा बढी १.०१ प्रतिशतले घटेको छ ।
त्यसैगरी बैंकिङ ०.०३, विकास बैंक ०.०६, लगानी ०.१२, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४६ तथा व्यापार समूह ०.३८ प्रतिशतले घटेका छन् । यता अन्य समूह ०.२९, उत्पादन तथा प्रशोधन ०.२६, जलविद्युत् ०.०१ तथा होटल तथा पर्यटन समूह ०.१२ प्रतिशतले बढेका छन् । व्यक्तिगत कम्पनीतर्फ सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५–१५ प्रतिशतले वृद्धि भएको छ । यी दुवै हालै सूचीकृत भएका नयाँ कम्पनी हुन् । त्यस्तै सप्तकोशी विकास बैंकको सेयर मूल्य १०.९८ प्रतिशत, उपकार लघुवित्तको ८.७० प्रतिशत तथा अपर हेवाखोलाको ६.१७ प्रतिशतले बढेको छ ।
यता क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशतले घटेको छ । सामुदायिक लघुवित्तको ७.३७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३९ प्रतिशत तथा मल्टिपर्पस फाइनान्सको ३.०५ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, अपर हेवाखोला, नेपाल रिइन्स्योरेन्स, रिडी पावर तथा शिवम् सिमेन्ट अग्रस्थानमा रहेका छन् ।