जीतपुरसिमरा उपमहानगरपालिका ले निजी विद्यालयहरूमा गरेको अनुगमनका क्रममा शिक्षा क्षेत्रमा गम्भीर अनियमितता फेला परेको छ ।
उपमहानगरपालिकाले मंगलबार सार्वजनिक गरेको अनुगमन प्रतिवेदनअनुसार केही विद्यालयले अनुमति नलिई माथिल्लो कक्षा सञ्चालन गरेको, विद्यार्थीलाई पढाउने विद्यालयभन्दा फरक विद्यालयको इएमआईएसमा दर्ता गरेको तथा सञ्चालन अनुमति नै नलिई पठनपाठन गराएको पाइएको हो ।
प्रतिवेदनअनुसार वडा नं. १७ रामनगरस्थित एडभान्स ई. बोर्डिङ स्कुल ले कक्षा ५ सम्मको मात्र अनुमति पाएको भए पनि कक्षा ६ र ८ सञ्चालन गरेको भेटिएको छ । सो विद्यालयका विद्यार्थीहरू भने वडा नं. १८ मनहर्वास्थित मिसन एकेडेमी को इएमआईएसमा दर्ता गरिएको पाइएको छ ।
त्यसैगरी, रजघट्टास्थित डुमरवाना पब्लिक ई. बोर्डिङ स्कुल ले अनुमति नपाएको कक्षा १० सञ्चालन गरेको भेटिएको छ । उक्त विद्यालयका कक्षा १० का विद्यार्थीहरू भने जीतपुरस्थित अम्ब्रेला एकेडेमी को इएमआईएसमा दर्ता गरिएको अनुगमन टोलीले जनाएको छ ।
सिमरास्थित न्यु होराइजन बोर्डिङ स्कुल ले अनुमति भन्दा माथिका कक्षा ४ र ५ सञ्चालन गरिरहेको पाइएको छ भने अमलेखगञ्जको नार्थ एन्जल बोर्डिङ स्कुल ले कक्षा ८, ९ र १० सम्म पठनपाठन गराइरहेको भेटिएको छ । त्यसैगरी लिटल एन्जल बोर्डिङ स्कुल ले अनुमति नलिई कक्षा ६ र ७ सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ ।
अनुगमनका क्रममा सबैभन्दा गम्भीर रूपमा चकरीस्थित आदर्श किड्स ल्याण्ड ले सञ्चालन अनुमति नै नलिई बालविकास कक्षा सञ्चालन गरिरहेको तथ्य फेला परेको छ ।
उपमहानगरपालिकाले यस्ता गतिविधिलाई शिक्षा नियमावलीविपरीत ठहर गर्दै सम्बन्धित विद्यालयमाथि कानुनी कारबाही तथा सञ्चालन अनुमति खारेजसम्म गर्न सकिने चेतावनी दिएको छ । अब कुनै पनि विद्यालयले अनुमति प्राप्त कक्षाभन्दा माथि कक्षा सञ्चालन गर्न, अभिभावकलाई भ्रामक जानकारी दिन वा विद्यार्थीलाई एक विद्यालयमा पढाएर अर्को विद्यालयको इएमआईएसमा दर्ता गर्न नपाउने स्पष्ट गरिएको छ ।
नगरप्रमुख राजन पौडेल ले यस्ता अनियमितता दोहोरिए कडा कानुनी कारबाहीसहित विद्यालयको अनुमति नै रद्द गरिने चेतावनी दिएका छन् ।