बाराको प्रसौनी गाउँपालिकामा कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले गोदाममा लुकाइछिपाइ राखिएको नेपाली अनुदानित तथा भन्सार छली गरी ल्याइएको भारतीय मलखाद प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको संयुक्त टोलीले बुधबार प्रसौनी गाउँपालिका–५ प्रस्टोका क्षेत्रमा सञ्चालन हुँदै आएका पसल तथा सहकारी संस्थामा छापा मारेर ठूलो परिमाणमा मलखाद बरामद गरेको हो ।
प्रहरीका अनुसार नितिक बीउ भण्डारका सञ्चालक शिवशंकर साहले रामअवध सहनीको घरलाई गोदामका रूपमा प्रयोग गरी लुकाइराखेको २९ बोरा अनुदानित पोटास मल बरामद गरिएको छ । उक्त मलको अन्दाजी मूल्य ४७ हजार ३४२ रुपैयाँ ५० पैसा रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, रबिन्द्र साह सञ्चालित विक्की गल्ला भण्डारबाट ५९ बोरा अनुदानित पोटास मल बरामद गरिएको छ । उक्त मलको अन्दाजी मूल्य ९६ हजार ३१७ रुपैयाँ ५० पैसा रहेको बताइएको छ ।
यस्तै, रमेश साह सञ्चालित महा सरस्वती कृषि सहकारी संस्था लिमिटेडबाट भन्सार छली गरी ल्याइएको २८ बोरा भारतीय युरिया, १७ बोरा एमोनियम सल्फेट तथा ८ बोरा नेपाली अनुदानित युरिया गरी कुल ५३ बोरा मल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद मलको अन्दाजी मूल्य ५० हजार ७२० रुपैयाँ रहेको छ ।
यसैबीच, मधेश प्रदेश ०३–००२ च ११८२ नम्बरको ई–लोडरमा १६ बोरा भारतीय युरिया मल ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले मलसहित ई–लोडर नियन्त्रणमा लिएको छ। बरामद मल र ई–लोडरको कुल अन्दाजी मूल्य ४ लाख १४ हजार ७२० रुपैयाँ रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बरामद गरिएको मलखाद तथा सवारीसाधनको कुल अन्दाजी मूल्य ६ लाख ९ हजार १०० रुपैयाँ बराबर रहेको छ। बरामद सामग्री इलाका प्रहरी कार्यालय प्रसौनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।