प्राकृतिक रूपमा पाक्ने सिजनभन्दा अगावै बजारमा क्याल्सियम कार्बाइड प्रयोग गरी कृत्रिम रूपमा पकाइएका आँप खुलेआम बिक्री भइरहेको पाइएको छ ।
प्रतिबन्धित वा शंकास्पद रसायन प्रयोग गरी काँचो आँपलाई छिटो पकाएर बजारमा ल्याइँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम बढेको छ ।
मधेश प्रदेश लगायत देशैभर अहिले अहिले मानवीय स्वास्थ्यका लागि हानिकारक मानिने क्याल्सियम कार्बाइड प्रयोग गरेर पकाइएका आँप विभिन्न बजारमा खुलेआम बिक्री भइरहेको स्थानीयहरूले बताएका छन् । तर, यस्ता आँपमा प्रयोग हुने रसायनबारे उपभोक्ता तथा नियमनकारी निकायहरू अनभिज्ञ देखिएका छन्।
एक आँप व्यापारीका अनुसार सिजनभन्दा अगावै काँचो आँप छिटो पकाउन क्याल्सियम कार्बाइड प्रयोग गरिन्छ । “अन्य रसायनभन्दा छिटो परिणाम दिने भएकाले यही प्रयोग गर्छौँ,” उनले बताए।
चिकित्सक दिलीप साहका अनुसार क्याल्सियम कार्बाइड प्रयोग गरिएको आँप सेवन गर्दा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने जस्ता समस्या देखिन सक्छन् । साथै मुटु, कलेजो र मस्तिष्कमा समेत दीर्घकालीन असर पर्ने खतरा रहने उनले बताए ।
उपभोक्ता डोमन साहले किसानभन्दा व्यापारीले बढी नाफा कमाउन काँचो आँप रसायन प्रयोग गरी पकाएर बिक्री गर्ने प्रवृत्ति बढेको गुनासो गर्नुभयो। सप्तरीका राजविराज, कठौना, महुली, हनुमाननगर, कञ्चनपुर, बोदेबरसाइन, कल्याणपुर, कुशहा लगायतका बजारमा यस्ता आँप बिक्री भइरहेको छ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा मालदह, बम्बई, आम्रपाली, मल्लिका, केलुवा, कृष्णभोग, कल्कत्तिया, सरही लगायतका जातका आँप उत्पादन हुन्छन्। सप्तरीका आँप काठमाडौँ, विराटनगर, हेटौँडा, र पोखरा लगायतका सहरमा समेत आपूर्ति हुने गरेको छ।
तर खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले भने हालसम्म बजारमा पाइरहेको आँपको नियमित निरीक्षण वा प्रयोगशाला परीक्षण नगरिएको जनाएको छ। कार्यालय प्रमुख बिमल भट्टराईका अनुसार विगतमा गरिएको परीक्षणमा क्याल्सियम कार्बाइड प्रयोग नभएको तर इथिलिन रसायन प्रयोग भएको पाइएको थियो, जुन स्वास्थ्यका लागि हानिकारक नरहेको दाबी गरिएको छ।