पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन सम्पन्न भएको छ ।
क्याप्टिभेटिङ्ग इन्टरनेशनल फाउन्डेसनको सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित कार्यक्रमअन्तर्गत विद्यालय बाहिर रहेका किशोरीहरूको शिक्षा, सशक्तीकरण तथा आत्मनिर्भरता अभिवृद्धिमा केन्द्रित विभिन्न गतिविधिहरू सञ्चालन हुँदै आएका छन् ।
अनुगमनका क्रममा पर्सागढी नगरपालिका वडा नं. २ र ४ मा सञ्चालित द्रुत सिकाइ कार्यक्रममार्फत ९ देखि १८ वर्ष उमेर समूहका ६७ जना किशोरीलाई आठ महिनासम्म अध्ययन गराइएको जानकारी दिइएको थियो। तीमध्ये ५५ जना किशोरी पुनः विद्यालय भर्ना हुन सफल भएका छन् ।
विद्यालय भर्ना हुन नसकेका केही किशोरीहरू उमेरका कारण औपचारिक शिक्षातर्फ आकर्षित नभई आयआर्जनमुखी गतिविधिमा संलग्न हुन इच्छुक रहेकाले उनीहरूको रुचिअनुसार व्यावसायिक तथा सीपमूलक सहयोग उपलब्ध गराउन पहल भइरहेको कार्यक्रम पक्षले जनाएको छ ।
पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले किशोरीहरूको विद्यालयमा नियमित उपस्थितिका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै अभिभावकहरूलाई थप सचेत र जिम्मेवार बनाउन आवश्यक रहेको बताए ।
उनले विकास साझेदार संस्थाहरूको सहयोग निश्चित अवधिसम्म मात्र रहने भएकाले कार्यक्रमको उपलब्धि र प्रभावलाई दीर्घकालीन रूपमा कायम राख्न स्थानीय तहले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अनुगमन टोलीमा वडा अध्यक्षद्वय वीरेन्द्र प्रसाद थारु र सेख खुर्सेद, स्वास्थ्य शाखाका प्रतिनिधि अमरुदिन मियाँ, पशु सेवा शाखा प्रमुख पुष्पेन्द्र साह, संजय पन्जियार, आसमान नेपालका अध्यक्ष रामप्रवेश यादव, कोषाध्यक्ष रेखा यादव, कार्यक्रम व्यवस्थापक अजय कुमार यादव, कार्यक्रम अधिकृत धर्मेन्द्र चौरसिया तथा विद्यालयका प्रधानाध्यापकहरू योगेन्द्र चौधरी, कृष्ण श्रेष्ठ र विनोद चौधरीलगायतको सहभागिता रहेको थियो ।
आसमान नेपालले पर्साको ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा समेत यस्तै कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाका अनुसार हाल करिब २७९ जना किशोरी तथा उनीहरूका अभिभावकसँग प्रत्यक्ष रूपमा शिक्षा, सीप विकास र जीविकोपार्जनका क्षेत्रमा काम भइरहेको छ ।
कार्यक्रमले विद्यालय बाहिर रहेका किशोरीहरूलाई पुनः शिक्षाको पहुँचमा ल्याउनुका साथै आत्मनिर्भर जीवनयापनतर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन् ।