पोखरिया नगरपालिकामा केही कर्मचारी तथा पदाधिकारीको मिलेमतोमा आर्थिक अनियमितता, अवैधानिक जिम्मेवारी वितरण तथा प्रशासनिक प्रक्रियाको दुरुपयोग भइरहेको आरोप सार्वजनिक भएको छ ।
नगरपालिकामा आन्तरिक लेखा परीक्षण (आ.ले.प.) पाँचौँ तहका कर्मचारी रामबीर चौरसियालाई आर्थिक चलखेल र राजनीतिक पहुँचका आधारमा लेखा अधिकृतको जिम्मेवारी दिइएको खुलेकाे छ । केही प्रभावशाली व्यक्ति तथा सम्बन्धित निकायका अधिकारीहरूको समेत संलग्नतामा लेखा अधिकृतको जिम्मेवारी दिइएको बताइएको छ ।
आरोप अनुसार रामबीर चौरसियाले जिन्सी व्यवस्थापन तथा लेखासम्बन्धी नियमित जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरी विभिन्न भुक्तानी प्रक्रिया अघि बढाएको बताइएको छ । साथै उनलाई थप जिम्मेवारी दिलाउन विभिन्न व्यक्तिहरूले राजनीतिक पहुँच र आर्थिक प्रभाव प्रयोग गरेको आरोप समेत लगाइएको छ ।
स्रोतका अनुसार चौरसियालाई छिपहरमाई गाउँपालिकाको समेत अतिरिक्त जिम्मेवारी दिने प्रयास भइरहेको छ । तर प्रचलित कानुन तथा प्रशासनिक व्यवस्था अनुसार आन्तरिक लेखा परीक्षण पदमा कार्यरत कर्मचारीलाई आवश्यक योग्यता तथा प्रक्रिया पूरा नगरी लेखा अधिकृतको जिम्मेवारी दिन नमिल्ने व्यवस्था रहेको बताइन्छ ।
त्यसैगरी आर्थिक वर्षको अन्तिम महिनाहरूमा चौरसिया नियमित रूपमा कार्यालयमा उपस्थित नभई अन्य लेखा अधिकृतसँग समन्वय गरी नगरपालिकाको कामकाज सञ्चालन गरेको आरोप समेत लगाएको छ । यसैगरी मन्त्रालयबाट हटाइसकिएको भनिएको एक व्यक्तिको म्याद पटक–पटक थप गर्दै आर्थिक तथा राजनीतिक प्रभाव प्रयोग गरिएको आरोप समेत सार्वजनिक भएको छ ।
यी घटनाक्रमले पोखरिया नगरपालिकाको प्रशासनिक पारदर्शिता, सुशासन र वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठाएको स्थानीयवासीहरूको भनाइ छ ।