पोखरिया नगरपालिकामा केही कर्मचारी तथा पदाधिकारीको मिलेमतोमा आर्थिक अनियमितता, अवैधानिक जिम्मेवारी वितरण तथा प्रशासनिक प्रक्रियाको दुरुपयोग भइरहेको आरोप सार्वजनिक भएको छ ।
नगरपालिकाका निलम्बित सामाजिक परिचालक सन्दीप साहले आन्तरिक लेखा परीक्षण (आ.ले.प.) पाँचौँ तहका कर्मचारी रामबीर चौरसियालाई आर्थिक चलखेल र राजनीतिक पहुँचका आधारमा लेखा अधिकृतको जिम्मेवारी दिइएको दाबी गरेका छन् । उनका अनुसार यस प्रक्रियामा केही प्रभावशाली व्यक्ति तथा सम्बन्धित निकायका अधिकारीहरूको समेत संलग्नता रहेको छ ।
आरोपअनुसार रामबीर चौरसियाले जिन्सी व्यवस्थापन तथा लेखासम्बन्धी नियमित जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरी विभिन्न भुक्तानी प्रक्रिया अघि बढाएको बताइएको छ । साथै उनलाई थप जिम्मेवारी दिलाउन रोजगार संयोजक विजय साह तथा अन्य व्यक्तिहरूले राजनीतिक पहुँच र आर्थिक प्रभाव प्रयोग गरेको आरोपसमेत लगाइएको छ ।
स्रोतका अनुसार चौरसियालाई छिपहरमाई गाउँपालिकाको समेत अतिरिक्त जिम्मेवारी दिने प्रयास भइरहेको छ । तर प्रचलित कानुन तथा प्रशासनिक व्यवस्था अनुसार आन्तरिक लेखा परीक्षण पदमा कार्यरत कर्मचारीलाई आवश्यक योग्यता तथा प्रक्रिया पूरा नगरी लेखा अधिकृतको जिम्मेवारी दिन नमिल्ने व्यवस्था रहेको बताइन्छ ।
त्यसैगरी आर्थिक वर्षको अन्तिम महिनाहरूमा चौरसिया नियमित रूपमा कार्यालयमा उपस्थित नभई रौतहट जिल्लामा कार्यरत लेखा अधिकृत सन्तोष कुशवाहासँग समन्वय गरी नगरपालिकाको कामकाज सञ्चालन गरेको आरोपसमेत उठेको छ ।
आरोपमा रोजगार संयोजक विजय साह र अर्बिन्द दुबेले समेत विभिन्न प्रशासनिक तथा आर्थिक गतिविधिमा सहयोग पुर्याएको उल्लेख गरिएको छ । रोजगार कार्यक्रमअन्तर्गत खरिद प्रक्रिया तथा अन्य वित्तीय गतिविधिमा उनीहरूको संलग्नताबारे पनि प्रश्न उठाइएको छ ।
यस्तै, मन्त्रालयबाट हटाइसकिएको भनिएको एक व्यक्तिको म्याद पटक–पटक थप गर्दै आर्थिक तथा राजनीतिक प्रभाव प्रयोग गरिएको आरोपसमेत सार्वजनिक भएको छ । यी घटनाक्रमले पोखरिया नगरपालिकाको प्रशासनिक पारदर्शिता, सुशासन र वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठाएको स्थानीयवासीहरूको भनाइ छ ।
यद्यपि, समाचारमा उल्लेखित आरोपहरू सम्बन्धित पक्षबाट आधिकारिक रूपमा पुष्टि भएका छैनन् । नगर प्रमुख, सम्बन्धित कर्मचारी तथा अन्य आरोपित व्यक्तिहरूको प्रतिक्रिया आउन बाँकी रहेको छ । आरोपहरूको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरोकारवालाहरूले माग गरेका छन् ।