संघीय सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा पर्सा जिल्लाकाे खेलकुद, सडक, पुल, शहरी पूर्वाधार तथा बजार विकासका योजनालाई विशेष प्राथमिकता दिएको छ । विभिन्न मन्त्रालय तथा विभागमार्फत जिल्लाका अधिकांश स्थानीय तहमा पूर्वाधार निर्माण, स्तरोन्नति र मर्मतका लागि करोडौं रुपैयाँ बजेट विनियोजन गरेकाे हाे ।
बालेन नेतृत्वकाे संघीय सरकारले पर्सा जिल्लाकाे खेलकुद पूर्वाधारतर्फ वीरगंजस्थित नारायणी रंगशालाको थप स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता सञ्चालनलाई लक्षित गर्दै रंगशालामा फ्लडलाइट जडानसहित फुटबल मैदान स्तरोन्नतिका लागि थप ३ करोड रुपैयाँ छुट्याएको छ । यतिमात्र नभइ नारायणी बहुउद्देश्यीय कभर्डहलको थप स्तरोन्नति तथा निर्माण कार्यका लागि पनि ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
चारवटै क्षेत्र समेट्ने सडक पूर्वाधारमा ठूलो लगानी
सरकारले एकअर्का क्षेत्रकाे सडक सञ्जाल कालाेपत्रे सडकका लागी स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय जनकपुरधाम मार्फत पर्साको हरपतगञ्जदेखि पूर्व ड्राइपोर्ट जोड्ने ६ लेन सडक निर्माणका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी बगही–रतनपुर–हरदासपुर–हरपुरटाडी–तेलिया–मनवा–कोइलाभार सडकका लागि पनि ५ करोड रुपैयाँ छुट्याएको छ ।
त्यसैगरी, पोखरिया नगरपालिका–९ बैरिया – मननपुर – जगतपुर – प्रसौनीभाठा – रानीगञ्ज –सिर्सिया – पोखरिया – पावरहाउस – बोकहवा चोक – मनहरवा हुँदै हुलाकी मार्ग जोड्ने सडकका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी धोबनी गाउँपालिका–४ को लङ्गडी – बखरी – गुलरिया – भिखमपुर–जानीटोल चोक सडक निर्माणका लागि समेत ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
स्थानीय बजार तथा बस्ती विकासका लागी कराेडाैँकाे बजेट
बस्ती विकास कार्यक्रमअन्तर्गत पटेर्वासुगौली गाउँपालिकाको निचुटा बजार, छिपहरमाई गाउँपालिकाको भिस्वा बजार तथा ठोरी गाउँपालिकाको सुवर्णपुर क्षेत्रको पूर्वाधार सुधारका लागि जनही ३ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको छ । यी योजनाले ग्रामीण बजार व्यवस्थापन, सडक, नाली तथा अन्य आधारभूत संरचनाको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
१४ स्थानीय तहका सडक कै लागि २१ करोड रूपैयाँ
सघन शहरी तथा भवन निर्माण आयोजना वीरगंजमार्फत पर्साका १४ वटै स्थानीय तहमा शहरी सडक स्तरोन्नति, मर्मत–सुधार तथा सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्न २१ करोड रुपैयाँ विनियोजन गरेको छ । यसअन्तर्गत प्रत्येक स्थानीय तहलाई १ करोड ५० लाख रुपैयाँका दरले बजेट उपलब्ध गराइने मन्त्रालयले जनाएकाे छ ।
यस कार्यक्रमबाट वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, बिन्दवासिनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका लगायत जिल्लाका सबै पालिकाका विभिन्न सडक सुधार गरिने अपेक्षा गरिएकाे छ ।
वीरगंजका १७ सडकमा झण्डै ३० करोड बजेट
पर्सा निर्वाचन क्षेत्र नम्बर १ र २ अन्तर्गत पर्ने वीरगंज महानगरपालिकाका १७ वटा सडक खण्डको निर्माण तथा स्तरोन्नतिका लागि २९ करोड ९९ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
हरपतगञ्ज, श्रीपुर, इनरवा–मनियारी, मनियारी–रामजानकी रोड, प्रसौनी स्कुल–मनियारी–इनरवा, परवानीपुर–ताजपुर, पटेलनगर–परवानीपुर, रामगढवा पुल–स्कुल सडक लगायतका योजनाहरू यस कार्यक्रमअन्तर्गत समेटिएका छन् ।
चार पालिकालाई शहरी पूर्वाधार निर्माणका लागि थप १२ करोड बजेट
सघन शहरी तथा भवन निर्माण आयोजना वीरगंजमार्फत वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिकालाई शहरी पूर्वाधार विकासका लागि जनही ३ करोड रुपैयाँका दरले कुल १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पुल निर्माणलाई पनि प्राथमिकता
पर्सागढी नगरपालिका–१ स्थित सिङ्गयाही खोलामा पुल निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ तथा वीरगंज महानगरपालिका–२७ अन्तर्गत उदयपुर–रामपुर जोड्ने फन्ठी खोलामा पुल निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।
यसका अतिरिक्त सिसुवा खोला, अण्डवा खोला तथा गादी नदीमा सडक पुल निर्माणका लागि समेत बजेट व्यवस्था गरिएको छ ।
पिछडिएका सडकमा थप ३ करोड
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय जनकपुरधाममार्फत बहुअर्वाभट्टा–पोखरिया–सतवरिया–बिरञ्चीबरवा–कालिकामाई गाउँपालिका भवन सडक तथा बोकहवा चोकदेखि जगरनाथपुर गाउँपालिका भवनसम्मको सडक निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेशमार्फत सडक मर्मत
संघीय सरकारले मधेश प्रदेशमार्फत थरुहट सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ सशर्त अनुदान उपलब्ध गराएको छ । त्यस्तै जनता सडकको आवधिक मर्मतका लागि १ करोड २० लाख रुपैयाँ तथा आत्मराम सडक मर्मतका लागि १ करोड ९ लाख रुपैयाँ छुट्याइएको छ ।
झोलुङ्गे पुल निर्माणमा ८५ लाख
पर्साका विभिन्न नदी तथा खोलामा आवतजावत सहज बनाउन झोलुङ्गे पुल निर्माणका लागि ८५ लाख रुपैयाँ सशर्त अनुदान विनियोजन गरिएको छ ।
यसअन्तर्गत जगरनाथपुरको ओरिया खोला, ठोरीको डेडु खोला, धोबनीको सिक्टा खोला, पकाहा मैनपुरको सिक्टा नदी, पटेर्वासुगौलीको छटुवन–छटीघाट तथा सखुवा प्रसौनीको बरवाघाट–नौरङ्गिया खोलामा झोलुङ्गे पुल निर्माण गरिनेछ ।
संघीय कार्यालयकाे भवन मर्मत र अधुरा भवन सम्पन्न गरिने
सघन शहरी तथा भवन निर्माण आयोजना वीरगंजमार्फत पर्सास्थित संघीय कार्यालय भवनहरूको मर्मत–सुधारका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
त्यस्तै, शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत बारा, पर्सा र रौतहटका निर्माण सम्पन्न हुन नसकेका तथा प्रयोगविहीन बनेका भवनहरू सम्पन्न गर्न ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी बस्ती विकास कार्यक्रमअन्तर्गत विगतका क्रमागत योजना, सिर्जित दायित्व भुक्तानी तथा ठेक्का सम्पन्न गर्न बारा, पर्सा र रौतहटका लागि ७ करोड ८० लाख रुपैयाँ तथा थप ४ करोड २१ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
संघीय बजेटमार्फत पर्सामा खेलकुद, सडक, पुल, शहरी विकास तथा बजार पूर्वाधारका दर्जनौं योजनामा ठूलो लगानी सुनिश्चित भएको छ । स्थानीय सरोकारवालाले प्रभावकारी कार्यान्वयन भए जिल्लाको आर्थिक, सामाजिक तथा भौतिक विकासमा उल्लेखनीय परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् ।