विभिन्न चार वटा मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका–२ निवासी ३४ वर्षीय राजेश सहनी रहेका छन् । उनलाई वीरगञ्ज महानगरपालिका–१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले जेठ २९ गते साँझ करिब ६ बजे सहनीलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार सहनीविरुद्ध बैंकिङ कसूर तथा चेक अनादरसम्बन्धी चार वटा मुद्दामा अदालतबाट कैद र जरिवानाको फैसला भइसकेको छ ।
पर्सा जिल्ला अदालतको २०८१ असार ३० गतेको फैसलाअनुसार बैंकिङ कसूर मुद्दामा उनलाई २ दिन कैद र ३ लाख ६० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो ।
त्यसैगरी, काठमाडौँ जिल्ला अदालतको २०८१ असार ९ गतेको फैसलाअनुसार मुद्दासम्बन्धी कसूरमा १ वर्ष ५ महिना ५ दिन कैद तथा १५ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो ।
यस्तै, चेक अनादरसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा पर्सा जिल्ला अदालतले क्रमशः २०८१ मङ्सिर २५ गते र २०८० असार २६ गतेको फैसलामार्फत जनही १ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो ।
पक्राउ परेका सहनीलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।