त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र रहेका बाँकी घर तथा भवनहरूमा पुनः डोजर चलाइने भएको छ ।
सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय हेटौंडाले मंगलबार सूचना जारी गर्दै सडक सीमा क्षेत्रमा पर्ने संरचनाहरू पाँच दिनभित्र स्वयं हटाउन सम्बन्धित घरधनीलाई आग्रह गरेको हो । तोकिएको अवधिभित्र संरचना नहटाए सडक ऐन, २०३१ बमोजिम विभागले डोजर प्रयोग गरी संरचना हटाउने चेतावनी दिएको छ ।
यसअघि गत वैशाख ६ र ७ गते सडक विभागले त्रिभुवन राजमार्गको सिरसिया मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकखण्डमा सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्र रहेका करिब एक हजार दुई सय घर तथा भवनमा डोजर चलाएर आंशिक रूपमा भत्काएको थियो । त्यसपछि केही घरधनीले स्वयं आफ्नो संरचना हटाए पनि घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश संरचना अझै हटाइएको छैन ।
सडक डिभिजन कार्यालयले जारी गरेको सूचनामा क्षतिग्रस्त तथा जोखिमयुक्त भवनमा बसोबास नगर्न र व्यापार व्यवसाय सञ्चालन नगर्न आग्रह गरिएको छ । सूचनाको बेवास्ता गरी कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले वहन गर्नुपर्ने उल्लेख गरिएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार त्रिभुवन राजमार्गको सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्म सडक सीमा संरक्षण अभियान वैशाख ६ गतेदेखि सुरु गरिएको थियो। अभियानपछि पनि क्षतिग्रस्त भवनहरूमा बसोबास र व्यापार व्यवसाय सञ्चालन भइरहेको पाइएकाले पुनः सूचना जारी गरिएको जनाइएको छ ।
यता सडक विभागले डोजर चलाएर संरचना हटाउन थालेपछि मुख्य सडक क्षेत्रका घरधनीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सडक विस्तार कार्य तत्काल रोक्न, मुख्य सडकलाई शहरी मार्ग कायम गर्न तथा वैकल्पिक समाधान खोज्न माग गर्दै निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।