विराटनगर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा डिजिटल क्षेत्रको कमजोरीका कारण पार्टीले गम्भीर राजनीतिक क्षति बेहोर्नुपरेको बताएका छन् ।
एमाले केन्द्रीय कार्यालयले मंगलबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले पार्टीको विशाल मानव स्रोतलाई डिजिटल शक्तिमा रूपान्तरण गर्न नसक्दा अपेक्षित राजनीतिक परिणाम हासिल गर्न नसकिएको बताए ।
उनले आफू नेतृत्वको सरकारले विकास, सुशासन र राष्ट्रिय हितका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरे पनि ती उपलब्धि जनतामाझ प्रभावकारी रूपमा पुर्याउन नसकिएको स्वीकार गरे । पार्टीविरुद्ध फैलाइएका गलत प्रचारको प्रभावकारी प्रतिवाद गर्न नसकिएको तथा सत्यको प्रचार र असत्यको खण्डनमा कमजोरी देखिएको उनको भनाइ थियो ।
संविधान निर्माण, विकास निर्माण तथा दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुदृढीकरणमा एमाले नेतृत्वले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै ओलीले ती उपलब्धिको प्रभावकारी प्रचारप्रसार हुन नसक्दा विरोधी शक्तिहरूले भ्रम फैलाउन सफल भएको बताए । उनले पार्टीविरुद्ध योजनाबद्ध रूपमा गलत प्रचार गरिएको आरोप लगाउँदै विभिन्न घटनालाई समेत एमालेविरुद्धको अभियानका रूपमा प्रस्तुत गरिएको बताए। आतङ्क र भ्रमको वातावरण सिर्जना गरेर एमालेलाई बदनाम गराउने प्रयास भएको उनको भनाइ थियो ।
गत प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर परिणाम आएपछि एमालेले सुरु गरेको देशव्यापी निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन अभियानअन्तर्गत कोशी प्रदेशस्तरीय छलफल विराटनगरमा सुरु भएको छ । पार्टीले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठन गरेको कार्यदलमार्फत देशभर समीक्षा अभियान सञ्चालन गरिरहेको छ । विराटनगरमा आयोजित कार्यक्रममा उपाध्यक्षहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल तथा सचिवहरू भानुभक्त ढकाल, शेरधन राई र हिक्मत कार्की सहभागी छन् ।
छलफलमा कोशी प्रदेशका केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिवालय सदस्य, १४ जिल्लाका पदाधिकारी तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको छ । कार्यक्रममा मंगलबार जिल्ला अध्यक्षहरूले लिखित सुझाव प्रस्तुत गरिरहेका छन् भने बुधबार थप बृहत् छलफल गरिने जनाइएको छ । एमालेले असार १९ गतेसम्म देशव्यापी समीक्षा अभियान सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसअघि बागमती प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न भइसकेको छ ।
गत प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत कमजोर नतिजा सामना गरेपछि एमालेभित्र आत्मसमीक्षा, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे बहस तीव्र बनेको छ । कोशी प्रदेशस्तरीय छलफलबाट प्राप्त सुझावले पार्टीको आगामी संगठनात्मक पुनर्संरचना र राजनीतिक कार्यदिशा तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास गरिएको छ ।