नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहितको ५ सय रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले मंगलबार सूचना जारी गर्दै साविककै आकार र रङमा केही परिमार्जित सुरक्षा विशेषता समावेश गरिएको नयाँ बैंकनोट प्रचलनमा ल्याइएको जनाएको हो । राष्ट्र बैंकका अनुसार नयाँ बैंकनोटमा सङ्केत नं. ‘झ’ देखि ‘ट’ सम्म तथा क्रम संख्या ०००००१ देखि ९९९९९९ सम्म रहनेछ। बैंकनोटमा वि.सं. २०८२ उल्लेख गरिएको छ ।
नोटको अगाडिको भागमा “श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसबाट रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० (पाँच सय) तुरुन्त पाइने छ” भन्ने प्रतिज्ञात्मक वाक्यांश राखिएको छ । त्यसैगरी बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ। दृष्टिविहीन व्यक्तिले नोटको दर सजिलै पहिचान गर्न सकून् भन्ने उद्देश्यले विशेष स्पर्श चिन्हसमेत समावेश गरिएको छ ।
नोटमा सगरमाथाको दायाँतर्फ कोणाकार आकृतिभित्र हेर्ने कोणअनुसार सुनौलो र हरियो रङ देखिने सुरक्षा चिन्ह राखिएको छ। साथै गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। ३.५ मिलिमिटर चौडाइको सुरक्षा धागो प्रयोग गरिएको उक्त नोट सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने विशेषता रहेको राष्ट्र बैंकले जनाएको छ ।

नोटको पछाडिको भागमा पाटेबाघको चित्र राखिएको छ भने माथिल्लो भागमा “NEPAL RASTRA BANK” र तल्लो भागमा “RUPEES FIVE HUNDRED” उल्लेख गरिएको छ। साथै नोटमा सिरिज नम्बर “2025 A D” लेखिएको छ ।
राष्ट्र बैंकले यसअघि २०७८ साल पुस ९ गते प्रकाशित सूचनासम्बन्धी विवरणलाई स्पष्ट गर्दै त्यसबेला सूचित गरिएका ५०० रुपैयाँ दरका बैंकनोटमध्ये सङ्केत नं. ‘छ’ र ‘झ’ तथा क्रम संख्या ०००००१ देखि २४८००० सम्मका नोट मात्र चलनचल्तीमा रहेको जनाएको छ ।