काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गरिब, किसान र मजदुरविरोधी रहेको आरोप लगाएका छन् ।
शुक्रबार पार्टीको सदस्यता नवीकरण तथा वितरण अभियानको उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले सरकारका नीति, कार्यक्रम, बजेट तथा निर्णयहरू गरिब जनताको हितविपरीत रहेको दाबी गरे ।
“सरकारको नीति, कार्यक्रम, बजेट, निर्णय र अन्य गतिविधि सबै गरिबविरुद्ध केन्द्रित छन् । सरकार नेपालका गरिब, किसान र मजदुरविरुद्ध छ भन्ने कुरा स्पष्ट देखिएको छ,” उनले भने ।
प्रचण्डले वर्तमान सरकार उत्पीडित समुदायको पक्षमा नभई उनीहरूको अधिकारमाथि प्रहार गर्ने दिशामा अघि बढिरहेको आरोपसमेत लगाए ।
उनले श्रमिक, गरिब मजदुर तथा आम जनताका मौलिक अधिकारको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । साथै ट्रेड युनियन अधिकारलगायत श्रमिकका हक–अधिकारविरुद्ध हुने गतिविधिको प्रतिरोध गर्न सबै मोर्चाबाट आवाज उठाउनुपर्नेमा जोड दिए ।
प्रचण्डले जनताको अधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर संघर्ष गर्नुपर्ने बताउँदै पार्टीका नेता तथा कार्यकर्तालाई जनतामाझ पुग्न आग्रह गरे ।