काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई नयाँ दिशामा अघि बढाउन डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आईटी फौज’ निर्माण गर्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेकपाको डिजिटल सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले पार्टी संगठन विस्तार र सुदृढीकरणका लागि सूचना प्रविधिको प्रयोग अपरिहार्य भइसकेको बताए ।
प्रचण्डले पार्टी अहिले नयाँ ढंगले अगाडि बढ्ने प्रयासमा रहेको उल्लेख गर्दै सदन, सडक र सरकारका सबै मोर्चाबाट संघर्ष गर्ने तयारीमा रहेको बताए । उनले वर्तमान समयको आवश्यकताअनुसार डिजिटल क्षेत्रमा बलियो उपस्थिति बनाउन ठूलो आईटी समूह निर्माण गर्नुपर्ने धारणा राखे ।
“पार्टीलाई सुदृढ, विस्तार र नयाँ आवश्यकतासँग जुध्न सक्ने बनाउन विशाल आईटी फौज चाहिन्छ । लाखौं जनतालाई गोलबद्ध गरेर यस्तो शक्ति निर्माण गर्ने काम कम्युनिष्टहरू र देशलाई माया गर्ने पक्षधरहरूले मात्रै गर्न सक्छन्,” उनले भने ।
प्रचण्डले सूचना प्रविधिको क्षेत्रमा पार्टीको लगानी अपेक्षाकृत कम रहेको उल्लेख गर्दै यस विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले निर्वाचनमा हुने खर्चसँग तुलना गर्दै डिजिटल क्षेत्रमा पर्याप्त लगानी नभएकोप्रति असन्तुष्टि समेत व्यक्त गरे ।
उनका अनुसार आगामी दिनमा पार्टीलाई आधुनिक प्रविधिमैत्री बनाउँदै संगठन विस्तार र जनतासँगको सम्पर्कलाई अझ प्रभावकारी बनाइनेछ ।