चालु आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेश सरकारलाई विनियोजित बजेटको तुलनामा आय संकलन कमजोर देखिएको छ।
जेठ मसान्तसम्म प्रदेश सरकारले कुल ३० अर्ब १७ करोड १४ लाख ७३ हजार रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार संघीय सरकारबाट प्राप्त अनुदान र राजस्व बाँडफाँटसहित उक्त रकम प्राप्त भएको हो। मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४६ अर्ब ९८ करोड २९ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यस आधारमा प्रदेश सरकार हाल करिब १६ अर्ब रुपैयाँ घाटा बजेटको अवस्थामा रहेको छ ।
अर्थ मन्त्रालयका सूचना अधिकारी अंशु कुमार झाले प्रदेशको आन्तरिक राजस्व संकलन ४ अर्ब ५९ करोड ३३ लाख ८४ हजार रुपैयाँ पुगेको जानकारी दिएका छन् । प्रदेश सरकारको प्रमुख आन्तरिक आम्दानी स्रोतमा घरजग्गा रजिस्ट्रेशन तथा सवारीसाधन कर रहेका छन् । समीक्षा अवधिमा घरजग्गा रजिस्ट्रेशन शुल्कबाट १ अर्ब १८ करोड १२ लाख ९५ हजार रुपैयाँ तथा सवारीसाधन करबाट २ अर्ब १ करोड ५० लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, सवारी चालक अनुमतिपत्र वितरण र सवारी दर्ता दस्तुरबाट ६८ करोड ८२ लाख ७० हजार रुपैयाँ, यातायात क्षेत्रसम्बन्धी अन्य आम्दानीबाट ११ करोड १० लाख ५९ हजार रुपैयाँ तथा दहत्तर–बहत्तर बिक्रीबाट १० करोड ९ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
प्रदेश सरकारले संघीय राजस्व बाँडफाँटमार्फत पनि उल्लेख्य रकम प्राप्त गरेको छ। मूल्य अभिवृद्धि कर (भ्याट) बाँडफाँटबाट ७ अर्ब ७५ करोड ६४ लाख ९९ हजार रुपैयाँ तथा अन्तःशुल्कबाट २ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ । यसैगरी, संघीय सरकारबाट समानीकरण अनुदानअन्तर्गत ७ अर्ब ६ करोड १६ लाख ७८ हजार रुपैयाँ प्राप्त भएको छ। सशर्त अनुदानअन्तर्गत चालुतर्फ २ अर्ब १७ करोड २७ लाख ७२ हजार रुपैयाँ तथा पुँजीगततर्फ १ अर्ब ५६ करोड ३० लाख ४० हजार रुपैयाँ प्रदेश सरकारले प्राप्त गरेको छ।
मन्त्रालयका अनुसार आर्थिक क्षेत्रमा देखिएको तरलता अभाव, घरजग्गा कारोबारमा आएको सुस्तता, नयाँ सवारीसाधन खरिद–बिक्रीमा कमी तथा भदौ २३ र २४ गतेको जनमत पार्टी नेतृत्वको आन्दोलनका क्रममा राजस्व संकलन निकायहरूमा पुगेको क्षतिका कारण अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेको हो ।
राजस्व संकलनमा चुनौती रहे पनि चालु आर्थिक वर्षको ११ महिनामा प्रदेश सरकारको आय संकलन सन्तोषजनक रहेको अर्थ मन्त्रालयले जनाएको छ ।