बारा जिल्लाको निजगढ नगरपालिका–२, सिंगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहको अतिक्रमणमा परेको ८ हेक्टर वन क्षेत्र डिभिजन वन कार्यालय बाराले खाली गराएको छ ।
डिभिजन वन कार्यालय बाराले वन कर्मचारी, वन रक्षक तथा नेपाल प्रहरीको सहयोगमा सोमबारदेखि अतिक्रमित क्षेत्र खाली गराउने अभियान सुरु गरेको हो । वन क्षेत्रभित्र स्थानीयवासीले केरा खेती गर्नुका साथै घर–टहरा निर्माण गरेर बसोबास गर्दै आएका थिए । कार्यालयले जेठ २९ गते सार्वजनिक सूचना जारी गर्दै एक साताभित्र अतिक्रमित भूभाग खाली गर्न निर्देशन दिएको थियो ।
वन कार्यालयको सूचनापछि स्थानीयवासीले घर–टहरामा प्रयोग गरिएका जस्तापाता, टायल, झ्याल, ढोकालगायत सामग्री सुरक्षित स्थानमा सार्ने कार्य केही दिनदेखि सुरु गरेका थिए । स्थानीयहरूले भने आफूहरूले वन क्षेत्र फँडानी नगरेको र विभिन्न व्यक्ति तथा विद्यालयबाट खरिद गरी बसोबास तथा भोगचलन गर्दै आएको दाबी गरेका छन् ।
वनदेवी सामुदायिक वन उपभोक्ता समूहको कुल २० हेक्टर अतिक्रमित क्षेत्रफलमध्ये यसअघि करिब १३ हेक्टर क्षेत्र खाली गराई काँडे तारबार गरिएको थियो । सो क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेर पुनः वन व्यवस्थापनको कामसमेत अघि बढाइएको छ । डिभिजन वन कार्यालय बाराका प्रमुख सुजितकुमार झाले सोमबारदेखि खाली गराउन सुरु गरिएको ८ हेक्टर क्षेत्रमा पनि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा वन्यजन्तुको प्राकृतिक बासस्थान सुरक्षित राख्ने उद्देश्यले अतिक्रमण हटाइएको कार्यालयले जनाएको छ । अतिक्रमित क्षेत्र खाली गराउने क्रममा कुनै अप्रिय घटना वा दुर्घटना नभएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
उक्त अभियानमा वन कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन रक्षकसहित इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारी, इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी नायब निरीक्षक कुमारप्रसाद मैनाली, अस्थायी प्रहरी चौकी सिंगौलका इन्चार्ज मनोज तिवारी तथा सशस्त्र प्रहरी बेस निजगढको सुरक्षा टोली खटिएको थियो ।