सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि नेपाल प्रहरीका कर्मचारीलाई पनि हरेक १५ दिनमा तलब तथा भत्ता उपलब्ध गराउने व्यवस्था लागू गर्ने भएको छ ।
प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग (बजेट शाखा) ले देशभरका बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई परिपत्र जारी गर्दै अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको निर्देशनअनुसार उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । जारी परिपत्रमा अर्थमन्त्रीस्तरीय निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको गत जेठ २१ गतेको पत्रअनुसार आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीलाई अर्धमासिक रूपमा तलब–भत्ता भुक्तानी गर्ने प्रणाली लागू गरिने उल्लेख गरिएको छ । यसअन्तर्गत कर्मचारीहरूले प्रत्येक महिनाको १५ दिन व्यतीत भएपछि तलबको आधा रकम प्राप्त गर्नेछन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले सम्बन्धित सबै कार्यालयहरूलाई नयाँ व्यवस्थाअनुसार आवश्यक तयारी गरी कार्यान्वयनमा ल्याउन अनुरोध गरेको छ । साथै, प्रहरी प्रधान कार्यालयको कल्याण महाशाखालाई समेत आर्थिक प्रणाली तथा भुक्तानी व्यवस्थापनलाई नयाँ प्रणालीअनुकूल बनाउन निर्देशन दिइएको छ ।
सरकारले कर्मचारीहरूको आर्थिक व्यवस्थापनलाई सहज बनाउन तथा नियमित आय सुनिश्चित गर्ने उद्देश्यले अर्धमासिक तलब भुक्तानी प्रणाली लागू गर्न लागेको जनाएको छ ।