लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा ब्युरो शाखाका असई सरोज अधिकारी र इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीको संयुक्त कमान्डमा खटिएको प्रहरी टोलीले मिथिला नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा सवारीसाधन चेकजाँचका क्रममा युवकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ढल्केबर बजारबाट बर्दिबासतर्फ आउँदै गरेको ज.१३ प. १३२८ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालक मिथिला नगरपालिका–१ लक्ष्मीनिवास निवासी २३ वर्षीय विजय यादवको साथबाट लागुऔषध बरामद गरिएको हो । जाँचका क्रममा यादवले लगाएको पाइन्टको दाहिने खल्तीमा लुकाइछिपाइ राखेको अवस्थामा खैरो हेरोइनजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद पदार्थलाई मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिकसहित ९.०५ ग्राम तथा प्लास्टिकबाहेक शुद्ध तौल ८ ग्राम ४४० मिलिग्राम रहेको पाइएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढल्केबरमा बुझाइएको छ ।
प्रहरीले पछिल्लो समय बिपी राजमार्ग र पूर्वपश्चिम राजमार्ग क्षेत्रमा लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी तथा चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ ।