निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारीलाई तीव्रता दिएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएयता तीन महिनाको अवधिमा मात्रै एक लाख ८१ हजार ३६७ जना नयाँ मतदाता थपिएका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा देशभर कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका थिए । मतदाता सङ्ख्या बढेसँगै आयोगले मतदाता विवरण अद्यावधिक गर्ने कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।
आयोगका अनुसार पछिल्लो निर्वाचनपछि हालसम्म १८ हजार ६२२ वटा मतदाता नामावली सच्याउन तथा अद्यावधिक गर्न निवेदन प्राप्त भएका छन् । ती निवेदनमाथि आवश्यक प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ । हाल आयोगले निर्वाचनको आन्तरिक तयारीअन्तर्गत मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्रहरूको पुनरावलोकनलगायत प्राविधिक र व्यवस्थापकीय कार्यहरू सञ्चालन गरिरहेको छ ।
यसै क्रममा गत असार ४ गते राष्ट्रियसभाअन्तर्गतको ‘राष्ट्रिय समावेशीकरण, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को बैठकमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीबारे छलफल भएको थियो । बैठकमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित तथा समयमै सम्पन्न गर्न विभिन्न सुझाव प्रस्तुत गरिएको थियो। समितिले निर्वाचनको मिति कम्तीमा छ महिना अगावै घोषणा गर्न, आवश्यक बजेट समयमै उपलब्ध गराउन तथा आयोग र मातहतका निकायमा रिक्त रहेका पदहरू तत्काल पूर्ति गर्न सरकारलाई सुझाव दिएको छ ।
त्यसैगरी मतदाता नामावली व्यवस्थापन प्रणालीलाई थप आधुनिक र प्रभावकारी बनाउने, अत्याधुनिक प्रविधिको प्रयोग गरी मतपत्र छाप्ने तथा निर्वाचनका क्रममा फैलिन सक्ने गलत सूचना र भ्रम चिर्न प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने सुझाव पनि समितिले दिएको छ ।