बारा जिल्ला यतिबेला बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमणको प्रमुख केन्द्रका रूपमा देखिएको छ ।
देशका ११ जिल्लामा संक्रमण पुष्टि भएपछि यसको नियन्त्रणका लागि सरकारले तीव्र रूपमा कदम चालिरहेको छ । विशेष गरी बारामा संक्रमणको जोखिम उच्च देखिएकाले विशेष सतर्कता अपनाइएको छ । पशु सेवा विभागका अनुसार बारा, महोत्तरी, झापा, सुनसरी, मोरङ, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा एभियन इन्फ्लुएन्जा संक्रमण पुष्टि भएको छ ।
संक्रमण नियन्त्रणका क्रममा हालसम्म देशभर ५ लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएको विभागले जनाएको छ। साथै, ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको छ । प्रयोगशालामा गरिएको परीक्षणबाट एच–फाइभ एन–वान (H5N1), एच–नाइन एन–टु (H9N2) तथा न्युक्यासल रोगका भाइरस सक्रिय रहेको पुष्टि भएको छ । यद्यपि, कोशी प्रदेशमा पछिल्लो एक महिनायता संक्रमण नियन्त्रणमा ल्याउन सफलता मिलेको विभागले जनाएको छ ।
संक्रमण थप फैलिन नदिन सरकारले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गरी विभिन्न नियन्त्रणात्मक उपाय लागू गरेको छ । संक्रमित फार्मका सम्पूर्ण कुखुरा नष्ट गरी सुरक्षित रूपमा व्यवस्थापन (गाड्ने) गर्ने कार्य भइरहेको छ । साथै, प्रयोगशालाहरूलाई सार्वजनिक बिदाका दिनसमेत सञ्चालन गरी परीक्षणको दायरा विस्तार गरिएको छ ।
सीमा नाका तथा क्वारेन्टाइन क्षेत्रमा निगरानी कडा पारिएको छ भने कुखुरा, अण्डा र दानाको ओसारपसारमा समेत कडाइ गरिएको छ । अवैध रूपमा हुने पशुपन्छीको बिक्री–वितरण रोक्न सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन अभियान सञ्चालन गरिएको विभागले जनाएको छ ।
संक्रमण फैलिन थालेपछि सर्वसाधारणमा कुखुराको मासु र अण्डा सेवनबारे अन्योल देखिए पनि विज्ञहरूले राम्रोसँग पकाएर सेवन गरेमा स्वास्थ्य जोखिम अत्यन्त न्यून रहने बताएका छन् ।