नेपाल आयल निगम लिमिटेडले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको जनाएको छ । मूल्य समायोजनपछि पेट्रोलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १९७ रुपैयाँ, डिजेल तथा मट्टितेलको प्रतिलिटर १९५ रुपैयाँ तथा आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ । नयाँ मूल्यअनुसार एलपी ग्यासको खुद्रा बिक्री मूल्य प्रतिसिलिन्डर २,०६० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
मध्यपूर्वमा युद्धविरामको सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले सोहीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ ।