वीरगंज महानगरपालिका क्षेत्रमा लागूऔषध गाँजाको खुलेआम बिक्री भइरहेको आरोप लगाउँदै स्थानीयवासी तथा अभिभावकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । बजारका विभिन्न चोक–चौबाटा, किराना पसल तथा सुर्तीजन्य पदार्थ बिक्री हुने स्थानबाट गाँजा सहज रूपमा बिक्री भइरहेको उनीहरूको दाबी छ ।
स्थानीयका अनुसार विद्यालय तथा कलेज आसपास रहेका केही चियापसल र साना व्यावसायिक केन्द्रहरूमा गाँजा मिसिएको चुरोट तथा गाँजाका पुडिया बिक्री हुने गरेको छ । यसका कारण विद्यार्थी तथा किशोर–किशोरीहरू लागूऔषधको जोखिममा पर्न थालेको भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन् ।
एक अभिभावकले सानो उमेरका विद्यार्थी नै लागूऔषधको पहिलो शिकार बन्न थालेको उल्लेख गर्दै विद्यालय आसपास यस्ता गतिविधि भइरहँदा पनि सम्बन्धित निकायले प्रभावकारी नियन्त्रण गर्न नसकेको गुनासो गरे । स्थानीयवासीका अनुसार वीरगंज बसपार्क क्षेत्रका केही साना पसलहरूमा समेत गाँजा बिक्री भइरहेको जानकारी प्रहरीलाई पटक–पटक गराइए पनि प्रभावकारी कारबाही हुन सकेको छैन ।
उनीहरूले प्रहरी प्रशासनको बेवास्ताका कारण यस्ता अवैध गतिविधि झन् बढ्दै गएको आरोप लगाएका छन् । अभिभावकहरूले लागूऔषधमा सहज पहुँचका कारण किशोर तथा युवाहरू कुलतमा फस्ने जोखिम बढ्दै गएको भन्दै विद्यालय, कलेज तथा सार्वजनिक स्थान वरपर हुने अवैध लागूऔषध कारोबार नियन्त्रण गर्न विशेष निगरानी र अभियान सञ्चालन गर्न माग गरेका छन् ।
स्थानीय समुदायले शैक्षिक संस्था आसपास हुने यस्ता गतिविधि समयमै नियन्त्रण गर्न नसके नयाँ पुस्ताको भविष्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएका छन् । उनीहरूले अवैध लागूऔषध कारोबारमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न, नियमित अनुगमन बढाउन तथा विद्यालय क्षेत्रलाई लागूऔषधमुक्त बनाउन सम्बन्धित निकायसँग तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।