बारा | बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुरको लल्का पुल नजिकबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जीतपुरबाट वरिष्ठ प्रहरी नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियमित सवारी तथा व्यक्ति चेकजाँचका क्रममा शंकास्पद अवस्थामा रहेका स्थानीय २९ वर्षीय साजन पासवान र २५ वर्षीय विकास चौधरीलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार चेकजाँचका क्रममा विकास चौधरीको साथबाट १९० मिलिग्राम खैरो हेरोइन तथा २५ दशमलव ५३ ग्राम गाँजा बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पछिल्लो समय पूर्व–पश्चिम राजमार्ग तथा आसपासका क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि निगरानी र नियमित चेकजाँचलाई थप प्रभावकारी बनाइएको जनाएको छ ।