पत्रकारको आवरणमा आपराधिक लाभ लिएको अभियोगमा अश्विन दानीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीमाथि डर त्रास देखाएर रकम माग गरेको आरोपमा काठमाडौंको कपन क्षेत्रबाट असोज २२ गते पक्राउ गरिएको हो । दानीमाथि नुवाकोटका चन्द्रबहादुर तामाङले जाहेरी दिएका थिए । प्रहरीले पीडितसँग लिएको रकमसहित उनलाई पक्राउ गरेको हो । अश्विन दानी हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीको सचिवालयमा प्रेस सल्लाहकारको रूपमा कार्यरत छन् ।
गोरखा नगरपालिका–३ नारेश्वर निवासी दानीले ११ कक्षामा अध्ययन गर्दै २०७३ देखि स्थानीय सञ्चार माध्यमबाट पत्रकारिता सुरु गरेका थिए । उनले प्रेस चौतारी गोरखाका अध्यक्षका रूपमा पनि काम गरेका थिए । हाल उनी रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी निकट पत्रकार संघको केन्द्रीय अध्यक्ष हुन् ।
यसअघि, गत चैतमा मुगा माला सहित पक्राउ परेका दानी धरौटीमा रिहा भएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाएको छ ।
अश्विन दानीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।