अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मकवानपुर जिल्लाका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले यात्रु तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै केही सडकखण्डमा समय तोकेर सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ । प्रशासनद्वारा जारी सूचनाअनुसार हेटौंडा–ठिङ्गन–बागमती–ललितपुर सडकखण्डअन्तर्गत चौघडा क्षेत्रबाट आज साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी साधन सञ्चालन बन्द गरिएको छ । त्यस्तै, हेटौंडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं सडकखण्डमा पर्ने चौकीटोल, हेटौंडा क्षेत्रमा पनि आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्णरूपमा रोकिएको छ ।
प्रशासनले सडकको अवस्था जोखिमपूर्ण रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, वैकल्पिक मार्ग प्रयोग गर्न तथा आधिकारिक सूचनाको निरन्तर पालना गर्न आग्रह गरेको छ । साथै, सम्बन्धित निकाय, यातायात व्यवसायी तथा चालकहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ ।
हाल जिल्लामा निरन्तर वर्षा भइरहेकाले थप पहिरो तथा सडक अवरोधको सम्भावना उच्च रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।