बारा | जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय दायित्व पूरा नगरेको ठहर गर्दै सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडलाई पाँच लाख रुपैयाँ आर्थिक जरिवाना गरेको छ ।
उद्योगबाट निस्कने फोहोर तथा प्रदूषणजन्य पदार्थको उचित व्यवस्थापन नभएको निष्कर्षपछि स्थानीय सरकारले वातावरण संरक्षणसम्बन्धी कानुनी व्यवस्था अनुसार कारबाही गरेको हो ।
उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाका अनुसार गत असार ७ गते वातावरणीय अनुगमन समिति र नगर प्रहरीको संयुक्त टोलीले उद्योग परिसरको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा औद्योगिक फोहोर, स्लरी तथा तेलजन्य पदार्थ जथाभावी फैलिएको, फोहोरपानीको व्यवस्थापन प्रभावकारी नभएको, कार्यस्थलमा आवश्यक सुरक्षा सतर्कता अपनाइएको नदेखिएको तथा स्वीकृत वातावरणीय व्यवस्थापन योजनाअनुसारका सर्तहरू पालना नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अनुगमनपछि उपमहानगरपालिकाले असार १५ गते उद्योगसँग लिखित स्पष्टीकरण मागेको थियो। उद्योगले तीन दिनपछि स्पष्टीकरण पेश गरे पनि अनुगमनबाट औँल्याइएका विषयमा सन्तोषजनक जवाफ दिन नसकेको नगरपालिकाको निष्कर्ष छ । त्यसपछि असार २५ गतेको प्रशासनिक निर्णयअनुसार उद्योगलाई पाँच लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको हो ।
वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर पुष्पा सिंहद्वारा जारी पत्रमा उद्योगलाई सूचना प्राप्त भएको सात दिनभित्र जरिवाना रकम उपमहानगरपालिकाको राजस्व खातामा जम्मा गरी सोको भौचर पेश गर्न निर्देशन दिइएको छ ।
आर्थिक दण्डसँगै उद्योगलाई प्रदूषण नियन्त्रणका लागि तत्काल सुधारात्मक कार्य सुरु गर्न पनि निर्देशन दिइएको छ । उद्योगबाट उत्सर्जन हुने धुलो, धुवाँ, फोहोरपानी, तेलजन्य पदार्थ तथा औद्योगिक अवशेषको वैज्ञानिक व्यवस्थापन गर्न, स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन तथा वातावरणीय व्यवस्थापन योजनाका सबै प्रावधान पूर्ण रूपमा कार्यान्वयन गर्न र सुधार सम्पन्न भएको प्रमाणसहितको प्रतिवेदन तोकिएको समयभित्र पेश गर्न भनिएको छ ।
उपमहानगरपालिकाले जारी निर्देशनको पालना नगरे वा तोकिएको अवधिभित्र जरिवाना नतिरे वातावरण संरक्षण ऐन, वातावरण संरक्षण नियमावली, स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य प्रचलित कानुनबमोजिम थप कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।
बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित केही उद्योगबाट हुने वातावरणीय प्रदूषणबारे स्थानीयवासीले लामो समयदेखि गुनासो गर्दै आएका छन् । धुलो, धुवाँ, दूषित पानी तथा औद्योगिक फोहोरका कारण बस्ती र सार्वजनिक क्षेत्र प्रभावित भएको भन्दै स्थानीय तहमा पटक–पटक उजुरी दर्ता हुने गरेको छ ।
यही पृष्ठभूमिमा जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय नियम उल्लंघन गर्ने उद्योगमाथिको निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाउने नीति लिएको जनाएको छ। हुलास स्टिलमाथि गरिएको पछिल्लो कारबाहीलाई औद्योगिक क्षेत्रलाई वातावरणीय उत्तरदायित्वप्रति सचेत गराउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।